
काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिबाट अनावश्यक रुपमा जनतालाई दुःख दिने कामको अन्त्य हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) काठमाडौं महानगरपालिका–२९ को प्रशासनिक भवन उद्घाटन समारोहमा उनले जनप्रतिनिधिले जनताको गुनासो सुनेर त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेतिर नै जोड दिएर लाग्नुपर्ने बताए । मन्त्री सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् ।
उनले भने, ‘सबैभन्दा बढी जनताले के खोजिरहेका छन् । जनताले समस्या राखिसकेपछि त हुनसक्ने काम त गर्दिन पर्छ नि । भोलि, आउनुहोस, पर्सी आउनुहोस भन्ने गरिन्छ । स्पष्ट भनिदिनु पर्छ, अनावश्यक दुःख दिन पाइँदैन् । यसको अन्त्य हुनुपर्छ । जनप्रतिनिधिले जनताको गुनासो सम्बोधन गर्ने भन्नेतिर नै लाग्नुपर्छ भन्ने कुरामा जोड दिन्छु ।’
त्यस्तै, उनले सरकारप्रति प्रश्न धेरै उठ्ने गरेको भन्दै स्थायी सरकार बनाउने उद्देश्यले बर्तमान सरकार निर्माण भएको बताए । उनले भने, ‘सबैले सरकारबारे प्रश्न गरेका छन् । कांग्रेस र एमालेले अरु पार्टीलाई पनि मिलाएर अहिले जुन सरकार बनेको छ त्यो जनताको चाहना हो । शान्ति प्रक्रियामा पनि कांग्रेसले नै नेतृत्व गरेको हो नि ।’
मन्त्री सिंहले वडाको भवन आफ्नै वडामा बन्नु पर्छ भन्दा विवाद गर्नुपर्ने अवस्था आएको स्मरण गर्दै नेपालमा नराम्रो काम गर्नभन्दा राम्रो काम गर्नको लागि धेरै अप्ठ्यारो रहेको बताए ।
प्रशासनिक भवन पूर्वाधार विकास मात्रै होइन : सुनिता डंगोल
त्यस्तै, काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोलले सबै वडाको आ–आफ्नै प्रशासनिक भवन निर्माणसँगै नागरिकलाई महानगरले र वडाले दिने सेवा सुविधामा थप प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । प्रशासनिक भवन पूर्वाधार विकासका पक्ष मात्र नभई जनतासँग जोडिएको विषय भएकाले आम जनतालाई सुशासनसँग जोड्न पनि प्रशासनिक भवनको महत्वपूर्ण भूमिका हुने उनको भनाई छ ।
उनले भनिन्, ‘आ–आफ्नै वडाको प्रशासनिक भवन भएमा नागरिकलाई महानगर र वडाले दिने सेवा सुविधामा थप प्रभावकारी हुन्छ भन्नेमा विश्वास राखेका छौँ । आज भवन उत्घाटन गर्न पाउँदा निकै खुसी लागेको छ । यो कुनै पूर्वधारका विकासका पक्ष मात्र होईन् जनतासँग आम नागरिकसँग जोडिएको विषय हो । आम जनतालाई सुशासनसँग जोड्न पनि प्रशासनिक भवनको महत्वपूर्ण भूमिका हुन्छ ।’ उनले २९ वडा वडामा नै मेलमिलाप केन्द्र सञ्चालनमा ल्याइएको पनि जानकारी दिइन् ।