
काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै उनले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए ।
आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्नुहुँदै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रस्ट पारे । ‘अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रष्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर गर्छ,’ गृहमन्त्री लेखकले भने ।प्रतिनिधि सभाको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेहा रौनियार र सत्येन्द्रकुमार रामबिच भएको अन्तरजातीय विवाह सम्वन्धमा प्रकाशित समाचार अभिव्यक्त चाँसोहरु र सांसदहरुले उठाएको विषयमा गम्भीर रुपमा ध्यानार्कषण भएको बताए ।
‘वैयक्तिक स्वतन्त्रता र मानव अधिकारको ग्यारेन्टीका लागि विद्यार्थीकालदेखि लड्दै आएको म अन्तरजातीय विवाहप्रति पुर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवलमूल्यन हो भन्ने म ठान्दछु ।’ उनले भने,’नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ ।’
उनले अन्तरजातीय विवाहबारे देशमा पटक–पटक विषयहरु उठ्ने गरेका बताउँदै कुनै प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा आफू सधै रहेको जानकारी दिए ।
‘यस विषयमा म र मेरो मन्त्रालय अत्यन्त संवेदनशिल रहेको छ ।’, उनले भने , ‘म अत्यन्त जाँदा संवेदनशील छु, म कुनै प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधै रहेको छु, यो मेरो मात्रै विचार होइन, म सम्वद्ध भएको पार्टी नेपाली कांग्रेस जन्मकालदेखि नै जातीय विभेद र छुवाछुत विरुद्ध रहेको पाटी हो,म त्यसमा अहिले पनि र जीवनभर प्रतिवद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु ।’
अन्तरजातीय विवाहलाई कानूनले नै मान्यता दिएको बताउँदै उनले उक्त कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने निकाय गृहमन्त्रालय भएको र गृह मन्त्रालय कानूनी व्यवस्थालाई अक्षरः कार्यान्वयन गराउन प्रतिवद्ध रहेको जानकारी दिए ।
‘समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोल्कल्पित र असत्य हो भन्ने म आग्रह गर्न चाहन्छु ।’ लेखकले भने, ‘समाचार थाहा पाउँदा बितिक्कै मैले गृह मन्त्रालयको तर्फबाट धारणा स्पष्ट पारिसकेको र नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य सार्वजनिक गर्न निर्देशन दिए अनुसार नेपाल प्रहरीले समेत विवरण सार्वजनिक गरिसकेको छ । तथापी यस विषयमा कही पनि त्रुटी भएको देखिए छानविन र कानून बमोजिम कारवाही गर्ने कुरा म सम्मानित सदनलाई विश्वास दिलाउन चाहन्छु ।’
उनले पीडितको गुनासो संवोधन गर्ने र सम्पूर्ण सुरक्षाको प्रत्याभूती दिने कुरामा गृह मन्त्रालय प्रतिवद्ध रहेको बताए । ‘नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ, उहाँहरुको जीवनमा कुनै प्रतिकुल प्रभाव पर्न दिइने छैन ।’ लेखकले भने,’सरकारले सम्पूर्ण रुपमा संरक्षण गर्ने छ भन्ने म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
तथ्यलाई तोडमोड गरेर समाजलाई विभाजनतर्फ नधकेल्न र त्यस्ता समाचार सामग्री तयार नगर्न पनि उनले सञ्चारमाध्यमसँग अनुरोध गरे ।