राजनीति

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस जारी, के आउला आदेश ?

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख धरौटी तिरेर रिहा भएलगत्तै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आइतबार काठमाडौं जिल्ला अदालतमा पुगेर बयान दिएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सोमबार थुनछेक बहस जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी छ । काठमाडौं जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस जारी भएको रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका भएका थिए ।

सो मुद्धामा सरकारी वकिल खडिन्द्रराज कटुवालले जाहेरवालाहरूको तर्फबाट बहस गर्दै स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा तथ्यहरू प्रस्तुत गरे । प्रहरी अनुसन्धान अनुसार, लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ अनियमित रूपमा लिएको आरोप लागेको छ । यही रकम बिगो माग गर्दै सरकारी वकिलले अभियोगपत्र दायर गरेका थिए । जाहेरवालाको तर्फबाट बहस सकिएपछि लामिछाने पक्षका कानुन व्यवसायीले प्रतिवाद गर्नेछन् ।

आइतबार लामिछानेमाथि थुनछेक बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो । सोही अनुसार रविलाई आइतबार भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *