काठमाडौं । सहकारी संस्थाको रकम हिनामिनाको आरोप लागेपछि फरार सुचीमा रहेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला अदालतमा उपस्थित भएकी छिन् । सहकारी प्रकरणमा आरोपित कोइरालालाई अदालतले पुस २ गते पक्राउ पुर्जी जारी गरेके थियो । अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार सुचीमा रहेकी उनी बुधबार मोरङ जिल्ला अदालतमा उपस्थित भएकी हुन् ।
मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीको रकम अपचलन गरेको आरोप लागेका २६ जनाविरुद्ध थुनछेक बहसको तयारी भइरहेको अवस्थामा कोइराला आज अदालत गएकी हुन् ।यसअघि पक्राउ परेका सन्तलाल खवाससहित पाँच लाख रूपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।
मोरङको धनपालथान गाउँपालिका– ३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संलग्न २६ जनालाई २२ करोड ४८ लाखको बिगो कायम गरिएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई उक्त बिगो कायम गरेको हो । सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरूको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ शेयर रकम रहेको र ७०७ जना ऋणीहरूले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको सहकारीले देखाएको उल्लेख छ ।
यद्यपि उक्त ऋणमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ ऋण उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखाइएको विवरण छ । ‘तर, उक्त ऋणहरूको निवेदन समेतको ब्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमशील कर्जा शीर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरूले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नबिल बैंक लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराई आधा रकम आफैँले खाइ मासी हिनामिना गरेको कारण हाल सफ्टवेयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाइन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।




