काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहलाई ८ बुँदे निर्देशन दिएको छ । सोमबार आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि उपनिर्वाचन हुने सबै स्थानीय तहहरूलाई ८ बुँदे निर्देशन दिएको हो ।
यस्तै निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पुर्याउने गरी कुनै काम गर्नरगराउन नपाउने उल्लेख गरेको छ । स्थानीय तहको स्वामित्व रहेको निकाय, सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य भौतिक साधन प्रयोग गर्न पूर्णरूपमा रोक लगाउन आयोगले निर्देशन दिएको छ ।
यस्तै आयोगको निर्देशनमा आयोगबाट लागू भएको आचारसंहिताको पालना गरी उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहहरूले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटन लगायतका कार्यहरू नगर्ने÷नगराउने व्यवस्था मिलाएको उल्लेख छ ।
निर्वाचन आचारसंहिता विपरीत कार्य भएमा कारबाही गरी सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई दिन समेत आयोगले आग्रह गरेको छ ।




