काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन् ।
“विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु”, प्रधानमन्त्रीले भनेका छन् । यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहेका परिवारमा समवेदना प्रकट गरेका हुन् ।
‘पूर्वसभामुख दमननाथ ढुगानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सधै स्मरण हुनेछ, प्रिय ढुङ्गानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु,’ राष्ट्रपतिले लेखेका छन्।
बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो १ः३० बजे उनको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।




