राजनीति

कीर्तिपुरको मेयर पदमा कांग्रेसबाट कृष्णमान डंगोलकाे उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि मनोनयन दर्ता गराएको छ ।

नेपाली कांग्रेसले कीर्तिपुरको मेयर पदका लागि कृष्णमान डंगोललाई मेयरको उम्मेदवार बनाएको भने वडा नम्बर १ को अध्यक्षमा इक्षा कुमार महर्जन र ४ को वडाध्यक्षमाराजेन्द्र मानन्धरले मनोनयन दर्ता गराएका छन् ।

उनीहरुले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गर्न उनीहरुको साथमा महामन्त्री विश्वप्रकाश शर्मा समेत सहभागी रहेका छन् ।

आगामी मंशिर १६ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अहिले मनोनयन दर्ता कार्य जारी छ । उपनिर्वाचनका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । स्थानीय तहका रिक्त ४४ पदका लागि आगामी मंसिर १६ गते मतदान हुँदै छ । आजै साँझ ५ देखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमानुसार, मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ । सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरिनेछ । मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।

मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । मंसिर ५ गते नै दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *