काठमाडौं । देशका विभिन्न भू–भागमा भएको सवारी दुर्घटना र प्राकृतिक विपत्तिका कारण देश शोकमा डुबेको छ ।
आजै देशका विभिन्न ठाउँमा तीन वटा सवार दुर्घटनामा परेका छन् । सवारी दुर्घटनामा परी लगभग दुई दर्जनको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेर दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनका अनुसार मृतकको शव परीक्षणका लागि पोखरा लैजाने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार २६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको र एकजनाको भरतपुरमा मृत्यु भएको थियो । यस्तै १६ जना घाइतेहरुलाई उपचारका नेपाल सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
घाइतेहरुको अहिले उनीहरूको उपचार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भइरहेको छ। एक जना घाइतेलाई भने चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी) लगिएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बसमा सवार ४३ जना सवार थिए । शुक्रबार बिहान पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो । बस दुर्घटनामा परेलगत्तै नेपाली सेनाको हेलिकोप्टरले मेडिकल टिम लिएर त्यसतर्फ गएको छ । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । प्रहरीका अनुसार केही गोताखोर पनि परिचालन गरिएको थियो । बस दुर्घटना बारे अनुसन्धान जारी छ ।
यस्तै चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिँदा घाइते भएकाहरूको पहिचान खुलिसकेको छ । शुक्रबार दिउँसो भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खस्दा बस अनियन्त्रित भएर दुघर्टना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा रौतहट गढीमाई नगरपालिका ६ बस्ने वर्ष ४८ को शैलेन्द्र यादव र उनकी १८ वर्षीया छोरी अर्चना यादव छन्।
घाइते हुनेहरुमा बाराको निजगढ नगरपालिका–८ बस्ने २६ वर्षीया सबिना थापा (अवस्था सामान्य), रौतहट चपुर नगरपालिका–८ बस्ने वर्ष ४६ को जनक नारायण चौधरी (अवस्था मध्यम), उनका छोरा १८ वर्षीय इन्द्रजीत चोधरी (अवस्था सामान्य), रौतहट गौर नगरपालिका–२ बस्ने वर्ष १७ की सन्ध्या साह (अवस्था मध्यम), चितवनको भरतपुर बस्ने २७ वर्षीया पूजा न्यौपाने (अवस्था मध्यम) सोही स्थानकी ४८ वर्षीया मनरुपा न्यौपाने (अवस्था मध्यम) र कास्कीको पोखरा महानगरपालिका–१७ बस्ने ४० वर्षकी साबित्री थापा मगर रहेका छन्।उनीहरूको चितवनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, सामान्य घाइते रौतहट कटहरिया नगरपालिका–१ का २५ वर्षका सिनोज दास, रौतहट मंगलपुर–८ बस्ने वर्ष २० को लालबाबु दास, रौतहटकै बृन्दाबन नगरपालिका–६ बस्ने वर्ष २२ को विक्रम दास, रौतहट गरुडा नगरपालिका–४ बस्ने वर्ष २० को पवन साह, सोही स्थानका १५ वर्षका अनोस साह, बारा जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने वर्ष २४ की उन्नती उपाध्याय, उनका श्रीमान अनदीप धिताल (अवस्था मध्यम) र बसका सहचालक बारा निजगढ नगरपालिका–५ बस्ने वर्ष ४३ को अर्जुन चौलागाई (सामान्य घाइते) को पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ।
अन्य सामान्य घाइतेहरूमा रौतहट बृन्दावन नगरपालिका ६ बस्ने वर्ष २१ को दिपेश दास, सोही स्थानका २२ वर्षका दिनानाथ दास, रौतहटको परोहा नगरपालिका–७ बस्ने ३४ वर्षका कोमो खैयाज, रौतहटको बृन्दावन नगरपालिका–६ का १७ वर्षका नौराज कुमार शाह, सोही स्थानका १८ वर्षका अजय कुमार दास, गौर नगरपालिका ९ का २१ वर्षीया ढली ठाकुर (अवस्था मध्यम) र उनको बहिनी २० वर्षीया दिव्या ठाकुर रहेका छन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।बस घटनास्थलमै छोडेर चालक फरार रहेको प्रहरीले जनाएको छ । अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
यस्तै कास्कीको पोखरा महानगरपालिका १७ घारीपाटन चोकमा पनि स्कुल बस दुर्घटना भएको छ।
पोखरा–८ मा सञ्चालित न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको विद्यार्थी बोकेको बस दिउँसो ३ बजेतिर दुर्घटना भएको हो। अनियन्त्रित भएर बस दुर्घटना हुँदा पार्किङमा रहेका तीनवटा ट्याक्सीमा क्षति पुगेको छ। दुर्घटनामा बस चालक स्याङ्जा भीरकोट नगरपालिका–२ बयरघारी घर भई हाल पोखरा–९ कृष्णटोल बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका छन्।
यस्तै आजै मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी हिमालनजिकै हिमपहिरो गएको छ । हिमपहिरोका कारण नदिहरु थुनिएका थिए । सुरक्षाकर्मीहरुले पहलमा थुनिएको नदी विस्तारै खुल्न थालेको छ।
शुक्रबार दिउँसो आएको हिमपहिरोका कारण स्थानीय छिप्लुङ खोला थुनिएको थियो। वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनले दिएको जानकारी अनुसार, किनारमा रहेका बस्तीहरूलाई सुरक्षित ठाउँतर्फ अवतरण गराउने काम भइरहेको छ। अहिले विस्तारै खोला खुल्न थालेपछि नदी आसपासका क्षेत्रमा ठूलो क्षति नहुने अनुमान गरिएको छ । अझै हिमपहिरो सबै खुलिसकेको छैन।
यस्तै सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।आज दिउँसो ३ बजेर ७ मिनेटमा ३।९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।




