रिबन

गाजा युद्ध अझ सात महिनासम्म लम्बिन्छ : इजरायल

काठमाडौं । इजरायलको राष्ट्रिय सुरक्षा एजेन्सीले गाजामा जारी युद्ध अझ सात महिनासम्म लम्बिने बताएको छ । हिजो इजरायलको कान पब्लिक ब्रोडकास्टरसँगको अन्तर्वार्तामा राष्ट्रिय सुरक्षा एजेन्सीका सल्लाहकार जाची हनेग्बीले हमास समूहको सैन्य र शासकीय क्षमतालाई नष्ट गर्न आफूहरुलाई थप सात महिना लाग्ने भन्दै युद्ध तत्काल नरोकिनेमा जोड दिए ।

इजरायलले आक्रमणको सात महिनापछि विश्व मञ्चमा आफूलाई एक्लो पारेको अवस्थामा अमेरिका र अन्य नजिकका सहयोगीले पनि नागरिकको मृत्युको संख्यामा आक्रोश व्यक्त गरेपछि उनको यो टिप्पणी आएको हो । हैगबीको भनाइले गाजाको भविष्य र यसमा इजरायलले कस्तो भूमिका खेल्नेछ भन्ने बारेमा प्रश्न खडा गरिदिएको छ । इजरायलले रफाहमा रहेको हमासको अन्तिम बटालियनलाई ध्वस्त पार्नु पर्ने लक्ष्य राखेको समेत उनले बताए ।

विगतको इजरायली आक्रमणले गाजाको सहरी परिदृश्यलाई नै ध्वस्त पारेको छ । युद्धले क्षेत्रको अधिकांश जनसंख्यालाई विस्थापित गरेको छ भने मानवीय प्रकोप र व्यापक भोकमरी समेत फैलाएको छ । त्यस्तै, इजरायली सेनाले हिजो इजिप्ट र गाजाबीचको बफर जोन ‘फिलडेल्फी कोरिडोर’लाई पूर्ण नियन्त्रणमा लिएको दाबी गरेको छ भने रफाहमा आफ्नो सैन्य आक्रमणलाई तिव्रता दिएको छ ।

रफाहसँग जोडिएको इजिप्टको नाकालाई पुनः इजरायलले बन्द गरिदिएको बताइएको छ । नाका बन्द भएपछि त्यहाँका बालबालिका र महिलालाई उपचारमा पुनः कठिनाइ भइरहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *