काठमाडौं । भारतमा आगामी मार्चमा तल्लो सदन लोकसभाको निर्वाचन हुँदैछ । विभिन्न चरणमा हुने निर्वाचनपछि कसले सरकार बनाउँछ भन्ने चासो सुरु भएको छ ।
अहिलेसम्मको अवस्था हेर्दा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीकै बलमा बिजेपी फेरि पाँच वर्ष सत्तामै रहने अडकलबाजी पनि गरिएको छ । हालै उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरमा प्राणप्रतिष्ठा गरेर मोदीले भारतभर एउटा लहर ल्याइसकेका छन् । त्यसले पनि मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने अनुमान गरिएको हो । यदि मोदी फेरि प्रधानमन्त्री बने भने भारतमा त्यो आफैंमा एउटा नयाँ कीर्तिमान हुनेछ ।
भारतमा बिजेपीलाई कडा टक्कर दिने भनेको कंग्रेस नै हो । तर कंग्रेसलाई कमजोर बनाउन मोदीले कुनै कसर बाँकी राखेका छैनन् । भारतका चर्चित मुख्यमन्त्री र नेताहरूलाई विभिन्न काण्डमा जेलमा कोचेर आफ्नो राजनीतिक हाइट बढाउने रणनीतिमा मोदी छन् । आफूबाहेक अरु सबै भ्रष्टाचार भन्दै सहानुभूति लिएर चुनाव जित्ने मोदीको दाउ छ ।
त्यही भएर अहिले दिल्लीका आपका चर्चित नेता मनिष सिसोदिया र सञ्जय सिंह जेलमा, झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ, बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवमाथि भ्रष्टाचारको छानबिन, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पाँचौपटक नोटिस पठाइएको छ ।
सबैलाई थर्काएर चुनावमा गएर बिजेपीलाई सत्तामा राख्न मोदीले कुनै कसर बाँकी राखेका छैनन् । सबैलाई जेलमा थुनेर एक्लै चुनाव लड्न चाहन्छन् मोदी । त्यही भएर अहिले मोदी शेख हसिना मार्गमा लागेको देखिएको छ ।
विपक्षी महागठबन्धन बलियो र सशक्त हुने डरले मोदीले त्यसमा फाटो ल्याइसकेका छन् । बिहारका मुख्यमन्त्री नितिश कुमारलाई भ्रष्टाचारमा जेल हाल्ने धम्की दिएर मोदीले बिजेपी गठबन्धनमा ल्याएर त्यहाँ सरकार बनाइसकेका छन् ।




