काठमाडौं । एमाले अध्यक्ष केपी ओली अहिले बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभन्ज्याङसम्म मध्यपहाडी संकल्प यात्रा गरिरहेका छन् । पुष्पलाल मध्यपहाडी राजमार्गले छोएका २६ जिल्लाभित्रका १८७९ किलोमिटर वरपरका स्थानीयसँग संवाद, भेटघाट, सभा गर्दै टोली अघि बढेको छ । यात्राको १३औं दिन मंगलबार एमाले टोली कोशी प्रदेश प्रवेश गरेको छ । पदयात्राले १८७९ किलोमिटर तय गर्नेछ ।
जनतासँग साक्षात्कार, भेटघाट, बन्दै गरेका ठूला परियोजनाको अवलोकन, सडकका अवस्थालाई प्रत्यक्ष हेर्दै ओली हिँडिरहेका छन् । ओलीले मध्यपहाडी लोकमार्गले नेपाली जनताको मुहारमा कति उज्यालो दियो ? त्यसको पछि समीक्षा होला नै । तर बाहिर देखिने स्वागतद्वार र स्वागत कार्यक्रमले ओली चुनावी अभियानमा लागेको देखिन्छ ।
कतिपय ठाउँमा ओलीले सरकारप्रति गरेका कटाक्ष चुनावी भाषणजस्ता देखिएका छन् । यात्रा राजनीतिक उद्देश्य वा मिसन– ८४ का लागि भएको जस्तो देखिन्छ । आफ्ना कार्यकर्ताबीच यस्ता अभिव्यक्तिले पार्ने प्रभाव एउटा पक्ष हुन सक्छ, तर रित्तिँदै गएको गाउँ र युवाविहीन बस्तीलाई कसरी भरिभराउ गराउन सकिन्छ भन्ने गतिलो सन्देश यात्राले दिन सकेको छैन । राजनीतिक दलको नेतृत्वबाट यो अभियान सञ्चालन गरेकाले राजनीतिक रंग आउनु स्वाभाविकै हो । ओलीले प्रत्येक ठाउँका आमसभामा मिसन– ८४ सफल पार्न आह्वान गरेका मात्र छैनन्, एमालेले जितेनन् भने देश नै सकिन्छ भन्नसमेत भ्याएका छन् ।
ओली अहिले जसरी पूरै एमाले पार्टीपंक्ति लिएर हिँडेका छन्, शाही शासन लागू गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाह पनि यसरी नै देश दौडाहामा हिँडेका थिए । उनले प्रत्येक ठूला सहर र गाउँगाउँ पुगेर जनतालाई भेटेका थिए । देश र जनताको सुख–दुःख बुझ्न भन्दै हिँडेका शाहले टाउको मात्र हल्लाउँथे । बुझें बुझें भन्थे । तर उनले जनताको पक्षमा काम गरेनन् ।
आफू र आफ्नो व्यवसायको हित मात्र गरे । सीमित पञ्चेहरूलाई अवसर दिए । जसकारण तेस्रो जनआन्दोलनले राजसंस्था नै नेपालबाट सदाका लागि बिदा गरिदियो । ओलीको संकल्प यात्रा पनि पूर्वराजाकै शैली जस्तो भएको भन्दै धेरै टिप्पणी गरेका छन् । न कुनै विचार छ, न कुनै भिजन छ, ठाउँठाउँ गयो, आफूलाई मनमा लागेका कुरा फलाक्यो, कांग्रेस र माओवादी नेतालाई गाली गरेरै उनको संकल्प यात्रा पूरा हुने देखिएको छ ।
कुनै समय एमालेका अध्यक्ष मनमोहन अधिकारी पनि यसरी नै हिँडेका थिए । तर त्यसपछिको आसन्न निर्वाचनमा एमाले धेरै ठाउँमा पराजित भएको थियो । दुई वर्षअघिको स्थानीय तहको निर्वाचन र गत वर्षको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ओलीले जहाँ जहाँ पुगेर भाषण गरेका थिए, त्यहाँ त्यहाँ एमाले पराजित भएको थियो । अहिले ओलीले यात्रा गरेको मध्यपहाडी क्षेत्रमा पनि त्यही इतिहास दोहोरिने धेरैको अनुमान छ ।




