काठमाडौँ। १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ ।
यस्तै जापान ३३ स्वर्ण, ४७ रजत र ५० कास्यका साथ एक सय ३० पदक प्राप्त गर्दै दोस्रो स्थानमा छ । दक्षिण कोरिया ३२ स्वर्ण, ४२ रजत, ६५ कास्यसहित एक सय ३९ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
भारत १५ स्वर्ण, २६ रजत र २८ कास्यसहित ६९ पदकका साथ चौथो स्थानमा छ । उज्वेकिस्तान १४ स्वर्ण, १५ रजत र २१ कास्यसहित ५० पदकका साथ पाँचौँ स्थानमा छ ।
यसैगरी चाइनिज ताइपेई १२ स्वर्ण, १० रजत र १८ कास्यसहित ४० पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, ११ रजत र १९ कास्यसहित ४० पदकका साथ सातौँ, दक्षिण कोरिया सात स्वर्ण, १० रजत र ६ कास्यसहित २३ पदकका साथ आठौँ, बहराइन सात स्वर्ण, एक रजत र चार कास्यसहित १२ पदकका साथ नवौँ तथा हङ्कङ चाइना ६ स्वर्ण, १५ रजत र २४ कास्यसहित कुल ४५ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।
एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३६ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ ।
१९ औं एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औं एशियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ ।
चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेर अघि सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेशगरेसँगै नेपालले जारी एशियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।
महिला कबड्डीतर्फ नेपालले पहिलो पटक एशियाली खेलकुदमा भाग लिएको हो । ‘पहिलो सहभागितामै आफ्नो देशलाई पदक दिलाउन सफल भएका छौँ’, नेपाली महिला कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले चीनको हाङझाउबाट कुरा गर्दै भने, ‘महिला कबड्डी टोलीले विश्वमा नेपालको इज्जत बढाएको छ, जारी एशियाली खेलकुदमा मुलुकलाई पदकविहीन हुनबाट जोगाउन सफल भयौँ ।’ सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदकमा मात्र सीमित नरहने उनको भनाइ थियो ।
नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’ को विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाल र इरानसित पराजित भएको बङ्गलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो । यस्तै महिला कबड्डीतर्फ समूह ‘ए’ मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् ।




