खेलकुद

पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपाल ४ विकेटले पराजित

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता नेपालले खराब शुरुवात गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग ४ विकेटको हार बेहोरेको हो ।

नेपालले दिएको १८० रनको लक्ष्य पछाएको पाकिस्तान ए ले ३२.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ३७ ओभरमा अलआउट हुदै १७९ रन बनाएको थियो ।

नेपालको शिर्ष ब्याटिंग क्रम फेल भएको अवस्थामा ब्याटिंग गर्न आएका सोमपाल कामीले शानदार ब्याटिंग गरेका थिए । सोमपालले ७५ रनको पारी खेलेका थिए ।

सोमपालले प्रतिष जिसीसँग नवौं विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए भने दशौँ विकेटका लागि ललित राजबंशीसँग ४९ रनको साझेदारी गरेका थिए ।

नेपालका कुशल भुर्तेल १ रन, आसिफ सेख १२, कप्तान रोहित पौडेल ४, भिम सार्की ०, अर्जुन साउद १७, कुशल मल्ल १७, पवन सराफ १, गुलशन झाले १३, प्रतिष जिसीले २६ र ललित राजबंशीले अविजित १ रन बनाएका थिए ।

त्यसैगरी पाकिस्तानका बलर शहनवाज दहानीले ५ विकेट लिए भने मुहमद वासिमले ४ विकेट तथा मुबसिर खानले एक विकेट लिएका थिए ।

नेपालले अब दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *