काठमाडौँ । नेपाल आइसीसी क्रिकेट विश्वकप क्वालिफायरबाट बाहिरिएको छ ।
शनिबार नेदरल्याण्डससँग ७ विकेटले हार बेहोरेसँगै नेपाल क्वालिफायरको समुह चरणबाटै बाहिरिएको हो ।
नेपालले दिएको १६८ रनको लक्ष्यलाई नेदरल्याण्डसले २७.१ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४४.३ ओभरमा अल आउट हुदै १६७ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३३ रन बनाए भने सन्दीप लामिछाने र कुशल भुर्तेलले २७-२७ रन बनाए । त्यस्तै भिम सार्कीले २२, गुलशन झाले १५, दिपेन्द्र सिंह ऐरीले १४, कुशल मल्लले १२ रन बनाएका थिए ।
त्यस्तै नेदरल्याण्डसका बलर लोगान भान बीकले ४ विकेट लिए भने बास डी लीड र विक्रमजित सिंहले २-२ विकेट लिएका थिए । त्यस्तै क्लेटन फ्लोयड र आर्यन दत्तले एक एक विकेट लिएका थिए ।
१३औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका छन् । उनले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु धरापमा पारेका हुन्, जतिबेला डच टिमको स्कोर ८६ रन थियो ।
१५औं ओभरको पाँचौं बलमा सन्दीपले नै दोस्रो विकेट लिए । वेस्ली बर्रेसी ३ रनमा आउट भए । तर क्रिजमा टिकिरहेका म्याक्सवेलले बास डी लिडेसँग मिलेर टिमलाई जिततर्फ डोर्याए ।
बाससँग तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेका म्याक्सवेललाई गुल्सन झाले २७औं ओभरको पहिलो बलमा बोल्ड गरे । ७५ बलको सामना गरेका उनले ८ चौका र चार छक्काको मदतमा ९० रन बनाए । बासले नयाँ ब्याट्सम्यान तेजा निदामानुरुँग मिलेर नेदरल्याण्डलाई जित मात्र दिलाएनन्, सुपर सिक्समा पुर्याए ।
यो जितसँगै समुह ए बाट नेदरल्याण्डसले सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेको छ । नेदरल्याण्डससँगै समुह ए बाट वेस्टइन्डिज र जिम्बाबेले पनि सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् । समुह ए बाट नेपाल र अमेरिका समुह चरणबाटै बाहिरिएका छन् ।




