काठमाडौं । आईसीसी विश्वकप क्वालिफायरअन्तर्गत एकदिवसीय विश्वकप छनोटमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् ।
जिम्बावेमा जारी प्रतियोगितामा नेपालले आजको खेलमा टिममा कुनै पनि परिवर्तन गरेको छैन। अमेरिकासँग खेलेको टिम नै मैदानमा उत्रिएको छ। चारपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको आजको खेल नेपाली क्रिकेट इतिहासकै हालसम्मको सबैभन्दा ठूलो खेल हो।
पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो। वेस्ट इन्डिजले पनि पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो। आजको खेल जितेमा नेपाल सिधै सुपरसिक्समा प्रवेश गर्नेछ । वेस्टइन्डिज विजयी भएमा नेपालले नेदरल्यान्डलाई हराउनुपर्ने छ ।




