काठमाडौं । खाद्यान्नको मूल्य निरन्तर बढेको बढ्यै छ । व्यापारीहरुले हप्ता बित्न नपाउँदै खाद्यान्नको मूल्य बढाउँछन् । हरेक सामानको मूल्य आकासिएको छ । योसंगै आम्दानी नहुनेहरु भोकभोकै बस्नुपर्ने बाध्यतामा आइपुगेका छन् । एकातिर मँहगी अर्कोतिर बेरोजगारी । अनि कसरी जीविकोपार्जन गर्ने ? काठमाडौंमा टिक्न नसक्ने अवस्था सिर्जना भइसकेको छ । सानो व्यापार व्यवसाय गरेर भएनि खाऊँला भनेर आफ्नो गाउँठाउँ छोडेर शहर आएकाहरु अहिले धमाधम आफ्नै थाकथलोतिर फर्किन थालेका छन् ।
यो अवस्था काठमाडौंमा मात्र होइन्, विभिन्न जिल्लाका सदरमुकामहरुमा पनि देखिन थालेको छ । बाँच्नका लागि विकल्प नै नभएपछि के गर्ने ? काम गरेर खर्च धानौंभन्दा काम पाइँदैन् । बिहानबेलुका खानै पर्यो, कोठा भाडा तिर्नैपर्यो र आफूलाई खर्च पनि चाहियो । बजारमा पूरै मन्दी छाएको छ । व्यापार व्यवसाय गर्नेहरुलाई पनि उत्तिकै सास्ती छ । एकातिर व्यापार ठप्प छ अर्कोतिर चर्को कोठाभाडा । खर्च धान्न नसक्ने भएपछि अधिकांशले सटर छोडिसकेका छन् । काठमाडौं उपत्यकालगायत अन्य जिल्लाका धेरैजसो सटर खाली हुन थालेका छन् ।
मन्दीले गर्दा अहिले त घरैपिच्छे ‘टुलेट’ को पोस्टर टाँसेको देखिन्छ ।
त्यति गर्दा पनि कोही कोठा खोज्न आइदिए त हुन्थ्यो । धेरै घरधनीहरुको आम्दानीको स्रोत गुमेको छ । एउटा कोठाको ठाँउ हेरेर मासिक पाँचदेखि १० हजारसम्म लिन्थें । अझ दुलोजत्रो गोदामको १५ हजार रुपैयाँ उठाउँथे । एउटै सटरको २० हजारदेखि १० लाखसम्म लिने काम हुने गथ्र्यो ।
एक फ्ल्याटको २५ हजारदेखि लाखसम्म पनि उठाए, घरधनीले । खाली सटर २० लाखदेखि ५० लाखसम्म बिक्री हुन्थ्यो । तीन महिनाको अग्रिम भाडा घरधनीले उठाउँदै आएका थिए । कोठा र सटर पाउन महामुश्किल भएकाले घरधनीले जति भन्यो त्यति नै तिर्ने गरिन्थ्यो । तर, अहिले त लेखेर टाँस्दा पनि कसैलाई फरक परेको छैन । कोठा खोज्न कोही आउने अवस्था छैन ।
दिनमै लाखौंको व्यापार गर्नेहरु अहिले एक चौथाइमै सीमित भएका छन् । कतिपयको त पसल खोल्नु ‘टाइमपास’ जस्तो भएको छ । देशमा लोकतन्त्र, संघीयता आएर वा प्रदेश बनेर सर्वसाधारणले काठमाडौं छोडेका भने होइनन् । विकास भएर गाउँ गएको भन्ने अवस्था पनि छैन् । किन कि हिजो उनीहरुले गाउँ छोडेर आउँदा जस्तो थियो, अहिले पनि त्यस्तै छ । अहिले गाउँ फर्किनुको कारणचाँहि बजारमा देखिएको आर्थिक मन्दी नै हो ।
व्यापार व्यवसाय सुकिहाल्यो । अन्य काम गरेर खाउँ भने रोजगारी छैन् । मुलुकमा दिनदिनै बेरोजगारी बढेको बढ्यै छ । व्यापार व्यवसाय गर्नेहरु पनि बेरोजगार बन्दा बेरोजगारीको संख्यामा थपवृद्धि भएको छ । आफ्नै गाउँठाँउ गएपछि कोठा भाडा तिर्नुपर्दैन । आफ्नै खेतबारीमा श्रम गर्यो भनेपनि खान त पुग्छ ।
मुलुकमा खाद्य संकट हुने र श्रीलंकाको जस्तो अवस्था हुन अनुमान हुन थालेको छ ।
किनकि नेपाल परनिर्भर देश हो । यहाँ हरेक खाद्यान्न भारतलगायत तेस्रो मुलुकबाट आयात हुन्छ । खेतीयोग्य जमिन सबै मासिसकेको छ भने बाहिरबाट आउने खाद्यान्न किन्नका लागि पनि व्यक्तिसंग पैसा हुँदैन । नेपालीहरुले जागिर खाए, जग्गा किने र घर बनाए । विदेश बसेर आएकाहरुले पनि घरजग्गामै लगानी गरे । सबैभन्दा उर्वर भूमि भएको काठमाडौं उपत्यका घरैघरले ढाँकिएको छ ।
अन्य जिल्लामा पनि बढ्दो अव्यवस्थित बस्ती बसिसकेको छ । कृषिप्रधान देशका किसानहरु धमाधम विदेश पलायन भइरहेका छन् । खेती गर्न जमिन नै नभएपछि विदेश नगएर पनि के गर्नु ? कतिले त बैंकबाट ऋण लिएर घर ठड्याएका छन् । अब घरको किस्ता कहाँबाट तिर्ने र घरखर्च कसरी टार्ने भनेर उनीहरु चिन्तित बनेका छन् ।
बाहिरबाट आयात गरेको सामान किन्न पनि पैसा चाहियो । नेपाल र नेपालीको अवस्था कहालीलाग्दो बनिसकेको छ । माटोभन्दा ठुलो केही होइन भन्ने सरकारले बुझेन, जनताले बुझ्न चाहेनन् । नेपालमा माटो खरिदबिक्री गर्ने काम भयो । जसले गर्दा खाद्यान्नको संकट हुने देखिन्छ । खेतीयोग्य जमिनलाई कंक्रिट बनाइएको छ । कंक्रिट बनाइसकेपछि कहाँ खेती गर्ने ? अन्न नै नभएपछि कोही बाँच्न सक्दैन् । देशमा भोकमरी लाग्यो भने कंक्रिट चपाउन मिलेन ।
घर बनाएर केके न गर्छु भन्नेहरुको समेत होश उडेको छ । अझ बैंकबाट किस्ता लिएकाहरुले त पुर्परोमा हात समानुपर्ने अवस्था सिर्जना भएको छ । सदनदेखि सडकसम्म मुलुकको अर्थतन्त्रकै विषयमा बहस चलिरहेको छ । सांसदहरु निरन्तर अर्थतन्त्रकै बारेमा सदनमा कुरा उठाइरहेका छन् । देशको अर्थतन्त्र पाँच दशकअघिको अवस्थामा पुग्ने होकी भन्ने चिन्ता बढेको छ ।
पाँच दशकअघि कम राजस्व उठ्दासमेत सरकारलाई कुनै फरक पर्दैनथ्यो । किन कि जनसंख्या कम थियो । आफ्नै खेतबारीमा फलेको खाद्यान्नले जीविको चलाउन पुग्थ्यो । नेपाल सरकारले अन्य देशलाई खाद्यान्न बेच्थ्यो, अनुदानमा दिन्थ्यो । अहिलेजस्तो घर र बाटो बनेको थिएन । सरकारी खर्चको नाममा कर्मचारीलाई तलब दिए पुग्थ्यो । तर, अहिले त ठ्याक्कै उल्टो अवस्था सिर्जना भएको छ । निर्यात छँर्दै छैन, आयात दिनकै बढिरहेको छ ।
कुनै पनि खाद्य वस्तुमा नेपाल आत्मनिर्भर बन्न सकेको छैन ।
व्यापार घाटा दिनदिनै बढिरहेको छ । सरकारी खर्च धान्नसमेत सरकारलाई महाभारत परेको छ । अझ पेन्सन, सरकारी गाडी, भत्ताको व्यवस्था गर्न थालेपछि त राज्यको ढुकुटी सोत्तर बनेको छ । सरकारी खर्च धान्नकै लागि विदेशीसमक्ष हात फैलाउनुपरेको छ । विदेशी ऋण बढेको बढ्यै छ, तिर्ने कहाँँबाट हो ? अत्तोपत्तो छैन । छिमेकी देशले खाद्यान्न पठाएन भने यहाँको जनता भोकभोकै मर्छन् । पठायो भनेपनि नेपालीले किन्न सक्ने अवस्था छैन । वास्तविक रुपमै भन्ने हो भने नेपाल जटिल अवस्थामा छ ।
जे गरेपनि नेपाल संकटबाट उम्किन सक्दैन । सरकारले बैंक र सहकारी खोल्नका लागि भटाभटी लाइसेन्स दियो । जसको भोगाइ अहिले सारा देशले भोगिरहेको छ । निजी बैंकमा बाहिर देशको व्यापारीहरुको लगानी छ । व्यापारीहरुको उद्धेश्य जसरी नि छिटो नाफा कमाउनु हो । उनीहरुले चाँडो नाफा कमाउने क्षेत्र घरजग्गामा देख्यो । दिनको दुई गुणा र रातको चारगुणाले बढ्ने भएपछि सबै लगानी यही क्षेत्रमा गरियो । वित्तिय संस्थाले उद्योग र कलकारखानामा लगानी गर्न नै चाहेनन् ।
कलकारखानामा लगानी गरिदिएको भए आज देश बेरोजगारीको दलदलमा फसेको हुँदैनथ्यो । आफ्नै उत्पादनले धान्थ्यो । विदेशीको भर पर्नुपर्ने थिएन । नेपालमा यत्रा विद्धान अर्थविद् छन् तर कसैले सरकारलाई सही सल्लाह दिएन । जतिसक्दो औद्योगिक क्षेत्रमा लगानी गर्नुपर्छ भनेर उनीहरुले सुझाव दिएनन् । जसको असर अहिले देखापरेको छ । मुलुकलाई सही ‘ट्रयाक’ मा ल्याउन असम्भव देखिएको छ । किन कि अब नेपाल आत्मनिर्भर बन्न सक्ने अवस्था छैन ।
जुन देश खाद्यान्नमा आत्मनिर्भर हुँदैन, त्यसले हरहमेशा अरुको अगाडि हात फैलाइराख्नुपर्छ । उद्योग व्यवसायीहरु मुलुकको अर्थतन्त्र शिथिल भइसकेको भन्दै भाषण ठोक्छन् । देशको अर्थतन्त्र सकाउने त यिनीहरु नै हुन् । नेपालको बैंकबाट कर्जा लिँदै विदेशमा लगेर राख्ने यिनीहरु त हुन् । भन्नलाई उद्योग व्यवसायी हुन् तर यिनीहरुले नै जनता र राज्य चुसेका छन् । त्यसैले अहिले आएर अर्थतन्त्रको विषयमा यिनीहरुले नबोल्दा नै राम्रो हुन्छ ।
भक्तपुर




