विश्व

विश्वभर चर्को गर्मीको लहर आउने चेतावनी,कति खतरनाक हुन्छ भन्ने अहिले नै भन्न नसकिने

काठमाडौँ । संयुक्त राष्ट्रसंघले आगामी केही महिनामा विश्वभर नै चर्को गर्मीको लहर आउन सक्ने चेतावनी दिएको छ ।

चेतावनीका अनुसार ‘एल निनो’ भनिने जलवायु घटना बढ्ने छ । जसका कारण विश्वभर गर्मीको नयाँ रेकर्ड बन्ने छ । संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनका अनुसार जुलाईको अन्त्यसम्ममा एल निनोको विकास हुने सम्भावना ६० प्रतिशत रहेको अनुमान गरिएको छ । सेप्टेम्बरसम्म यस्तो हुने सम्भावना ८० प्रतिशत छ ।

एल निनो एक जलवायु घटना हो जुन मध्य र पूर्वी भूमध्यीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रमको विशेषता हो । यसले विश्वभरको मौसमको ढाँचामा ठूलो प्रभाव पारेको छ । एल निनो शब्द मूलतः पेरुभियन मछुवाहरूले न्यानो महासागरको प्रवाहलाई वर्णन गर्न प्रयोग गरेका थिए । एल निनोका कारण विश्वमा वर्षाको क्रम खराब हुन सक्छ । जसका कारण धेरै क्षेत्रमा भारी वर्षा र धेरै ठाउँमा खडेरी पर्ने सम्भावना छ । यो अन्तिम पटक २०१८-१९ मा देखिएको थियो ।

यद्यपि, २०२० पछि, ला निना विश्वमा असाधारण रूपमा देखियो । ला निना एल निनाको विपरित हो, जसमा समुद्रको सतहको तापक्रम घट्छ । यस वर्षको सुरुमा ला निना समाप्त भएको छ । संयुक्त राष्ट्रसंघले ला निनाको घटना भए पनि विगत आठ वर्ष अहिलेसम्मकै सबैभन्दा गर्मी भएको बताएको छ । यदि यो ला निना नभएको भए, गर्मी अझ खतरनाक हुन सक्थ्यो । ‘ला नीनाले विश्वव्यापी तापमान वृद्धिमा अस्थायी ब्रेकको रूपमा काम गरेको छ,’ विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) प्रमुख पेट्री तालासले एक विज्ञप्तिमा भनेका छन् ।

उनले एल निनोका कारण अब गर्मीले नयाँ कीर्तिमान बनाउन सक्ने चेतावनी दिए । एल निनो कति खतरनाक हुन्छ भन्ने अहिले नै भन्न नसकिने उनले बताए । अघिल्लो एल निनो कमजोर मानिएको थियो । तर यसअघि सन् २०१४ र २०१६ बीचको एल निनो निकै शक्तिशाली मानिएको छ ।

विश्व मौसम विज्ञान संगठनका अनुसार, २०१६ सबैभन्दा तातो वर्ष थियो । विश्वव्यापी तापक्रममा एल निनोको प्रभाव तत्कालै देखिँदैन, तर यसको उदय भएको एक वर्षपछि देखिने गरेको छ । अर्थात् यसको वास्तविक प्रभाव सन् २०२४ मा देखिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *