काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ ।
वर्षाले प्रभावित खेलमा नेपाल समूह बिजेता भएका आधारमा फाइनलमा पुगेको छ भने युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । युएई २ रनले विजयी हुँदै फाइनल पुगेको हो ।
त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएल प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमार ३७ रन जोड्दा खेल वर्षाका कारण स्थगित भएको थियो ।
कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएका कारण कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।
करण केसीले लिए पाँच विकेट
२८१ रन लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर खेल्दा ६ विकेट गुमाउदै ३७ रन मात्र बनाएको थियो ।
कुवेतका अदनान इद्रिस शुन्य रनमा, प्रभिन्दर कुमार १ रन, मीट भाभसर ५, रभिजा संदरुवान ९ रन, शिराज खान ३ रन र कप्तान मोहमद अस्लाम १४ रन बनाएर आउट भएका थिए । नेपालका लागि करण केसीले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका थिए ।
नेपालको शानदार ब्याटिंग
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले शानदार प्रदर्शन गरेको थियो ।
नेपालले ४२ ओभरमा ९ विकेट गुमाउदै २८१ रन बनाएको थियो । बर्षाले खेल बिचमा प्रभावित भएपछि डक वर्थ लुइस नियम अनुसार कुवेतका लागि २८१ रनकै लक्ष्य तय भएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ९४ रन बनाए । रोहितले ९५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ९४ रन बनाएर आउट भएका थिए ।
त्यस्तै कुशल मल्लले ५७ रन बनाए भने कुशल भुर्तेलले ४३ रन बनाएका थिए । त्यस्तै आसिफ शेखले ३१, आरिफ शेखले१८ भिम सार्कीले १, सन्दीप लामिछानेले ५ रन, सोमपाल कामीले अविजित १३, ललित राजबंशीले २ र करण केसीले ७ रन बनाएका थिए ।
त्यस्तै कुवेतका बलर मोहमद अस्लाम र अदनान इन्द्रीजले ३-३ विकेट लिए भने यासिन पटेल र साएद मोनिबले एक एक विकेट लिए ।
अब फाइनल खेल आगामी सोमबार टियु क्रिकेट मैदानमा हुने छ । एसीसी प्रिमियर कप जित्ने टिमले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया कपमा समुहमा रहेका भारत र पाकिस्तानसँग खेल्ने छ ।




