रिबन

सन्दीपलाई थुनामुक्त गर्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालय सर्वोच्च जाने

काठमाडौँ । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेश बदर गर्न माग गर्दै उच्च सरकारी वकिलको कार्यालय सर्वोच्च अदालत जाने तयारी गरेको छ।

उच्च अदालत पाटनले गत बिहीबार लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो। उक्त आदेशले थुनामा राख्नैपर्ने पर्याप्त आधार नभएको भन्दै २० लाख धरौटीमा छोडिदिएको थियो।

उक्त आदेश कानुन र सर्वोच्चले गरेका व्याख्यासँग बाझिएको भन्दै सर्वोच्च जाने तयारी गरेको पाटन उच्च सरकारी वकिल स्रोतले जानकारी दियो।

सन्दीप लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश त्रुटीपूर्ण रहेको भन्दै उनीहरुले सर्वोच्चमा निवेदन हाल्ने तयारी गरेको जनाएको हो । सर्वोच्च अदालतमा पठाउने निवेदन लेख्ने काम भइरहेको छ।

बिहीबारको आदेश औपचारिक रूपमा मंगलबारमात्र उच्च सरकारी वकिलको कार्यालय पाटनमा पुगेको थियो।

नाबालिगमाथि बलात्कारको अभियोग लागेका लामिछानेले आफू थुनाबाहिर बसेर मुद्दा लड्न पाऊँ भन्दै दिएको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश धुवराज नन्द र रमेश ढकालको इजलासले गत बिहीबार उनलाई धरौटीमा छोड्ने आदेश गरेको थियो।

काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। उक्त आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालतमा निवेदन दिएका थिए।

जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

उनीमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *