काठमाडौं । केन्द्रीय निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे चैत २६ गतेसम्ममा निर्णय लिन जिल्लास्थित संयन्त्रहरूलाई निर्देशन दिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित समितिको आज बसेको पहिलो बैठकले यस्तो निर्देशन दिएको हो ।
नेपाल मगर युवा सङ्घको एक समूहले रुपन्देहीको बुटवलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा उक्त समूहले पुत्ला दहन गरेको हो । बुटवलको राजमार्ग चौराहामा पुत्ला दहन गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको थियो ।
सर्लाहीको मलंगवामा गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बुधबार साँझ ७ बजेतिर मलंगवा नगरपालिका–९, कृष्णामति माविको कम्पाउण्ड पूर्व रिङरोड नजिक चलेको गोली लागेर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो ।
निवार्चन आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । ‘विभिन्न कारण’ उल्लेख गर्दै आयोगले ७१ जना निर्वाचन अधिकृत हटाएको हो । आयोगले अन्य ७१ जनालाई नियुक्त गरेको छ । आयोगले चैत २९ गतेभित्र तोकिएको स्थानमा हाजिर हुन नियुक्त गरेका अधिकृतहरुलाई निर्देशन दिएको छ ।
नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत् बिक्री गर्ने अनुमति पाएको छ । बुधबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको बताइन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरपुर महानगरमा विकासको श्रृष्टि भएको दाबी गरेका छन् । महानगरकी मेयर आफ्नी छोरी रेणु दाहालको उनले खुलेर तारिफ समेत गरे । भरतपुरको आँपटारीमा भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र बाँड्दै प्रचण्डले आफू चितवनमा रेणुको बुवाको रूपमा चिनिन थालेको बताए ।
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ । बुधबार समितिको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफल गर्दै तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको हो ।
संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मङ्गलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स र काउन्टरमा नयाँ त्रिपक्षीय सहयोग शुरु गर्न आज प्रतिबद्ध रहेको बताएका चन् ।
सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब बाँसबारीलाई सिद्धार्थ बैंकले प्रायोजन गरेको छ । ‘बी’ लिग खेलिरहेको बाँसबारीले बुधबार सह–प्रायोजन सम्झौतामा बैंकसँग हस्ताक्षर गरेको छ । क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे । चार लाख रुपैयाँको प्रायोजन सम्झौता एक वर्षको रहेको छ ।




