काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको राजनीतिमा आएको विकृति गैरआवासीय नेपाली संघ (एनआरएनए)मा देखिएको बताएका छन् ।
मंगलबार काठमाडौंमा भएको एनआरएनए को १० औं विश्व सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै एनआरएमा विकृति आएको बताएका हुन् ।
विधानलाई मिचेर काम नगर्न उनले सबै गैरआवासीय नेपालीलाई आग्रह समेत गरे । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं’ उनले भने, ‘तर तपाईंहरू नै एक हुनुहुन्न, तपाईंहरू एक हुनुस् विधान अनुसार काम गर्नुस् ।’
अर्थमन्त्री शर्माले देशमा संकट पर्दा एनआरएनएले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । मुलुकको विकासका लागि गैरआवासीय नेपालीहरुको भूमिका महत्त्वपूर्ण रहेको भन्दै संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको प्रशंसा गर्दै उनले सबै एनआरएनहरुलाई एउटै मञ्चमा ल्याउन आग्रह गरे ।
गैरआवासीय नेपालीहरुले विदेशमा सिकेको सिप र पुँजी नेपाल भित्र्याउन उनले आग्रह गरे । ‘आफ्नो जन्मभूमिलाई तपाईंहरूले माया गर्नुपर्छ, जति लगानी आउनुपर्ने आएको छैन,’ अर्थमन्त्री शर्माले भने, ‘बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउनुपर्यो ।’
गैर आवासीय नेपालीहरुले नेपालमा बैंक खाता खोल्न सहज बनाइएको भन्दै उनले सबैलाई खाता खोल्न आग्रहसमेत गरे । ‘मलाई विश्वास छ तपाईंहरुले १ हजार डलर राखेर बैंक खाता खोलेरमात्रै जानुहुनेछ,’ उनले भने ।




