रिबन

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा प्रेमध्वज लामाको उम्मेदवारी नै किन ?

काठमाडौं । नेपाली कांग्रेसको सिन्धुपाल्चोक अधिवेशन आगामी फागुन २७ र २८ मा हुँदैछ । पटक पटक अधिवेशनको मिति तोकिँदै स्थगित हुँदै आएको छ । यसपटक भने फागुन अन्तिम सातातिर आयोजना हुने निश्चित भएको छ ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकिएकाले पनि कांग्रेसलाई फागुनभित्रै बाँकी रहेका जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ । १४औं महाधिवेशनअघि कांग्रेसका १६ जिल्ला अधिवेशन हुन बाँकी छ । जसक्रममा सिन्धुली र मकवानपुरमा सम्पन्न भइसकेको छ । अब सिन्धुपाल्चोकलगायतका जिल्लामा हुन गइरहेको छ ।

कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा अहिले युवा नेतृत्व आउने निश्चित भएको छ । लामो समयदेखि पार्टीमा क्रियाशील डा.प्रेमध्वज लामाको पक्षमा माहोल बन्दै गइरहेकाले उनी सभापति निर्वाचित हुने सम्भावना धेरै रहेको कांग्रेस नेता कार्यकर्ता बताउँछन् । कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा वंशलाल तामाङले पनि उम्मेदवारी दिने भएका छन् । उनी अहिले इन्द्रावती गाउँपालिकाका अध्यक्ष छन् । लामो समय अमेरिका बसेर आएका उनलाई धेरैले जिल्लामा चिन्दैनन् ।

२०४३ सालदेखि नेविसंघको राजनीति सुरु गरेका लामा कांग्रेसमा बौद्धिक नेताका रूपमा परिचित छन् । जिल्ला, केन्द्र मात्र होइन, अन्तर्राष्ट्रिय राजनीतिको समेत कुशल व्याख्या गर्नसक्ने छवि बनाएका लामा नेविसंघको केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा सक्रिय छन् । नेविसंघको सिन्धुपाल्चोक अध्यक्ष हुँदै उनी नेविसंघको दुईपटक केन्द्रीय सदस्यसमेत भइसकेका छन् । लामाले २०४८ सालमा पार्टी राजनीति गरेका हुन् । यो ३० वर्षमा पनि उनले कुनै ठूलो जिम्मेवारी पाएका छैनन् ।

कांग्रेसको नवौं महाधिवेशनदेखि नै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निरन्तर बन्दै आएका लामा नेपाली कांग्रेसमा लाभको पद नलिने थोरै नेतामध्ये पर्छन् । उनले कहिल्यै पनि कांग्रेस नेतृत्वबाट राजनीतिक पद र लाभ लिन खोजेनन् । त्यही भएर पनि उनी जिल्लामा पार्टीका सबै भ्रातृ र शुभेच्छुक संघसंस्थाका नेता कार्यकर्तामाझ लोकप्रिय छन् ।

उनी राजनीतिलाई नै जीवन मानेर हिँडेका छन् । त्यसैले आफ्नै बलबुत्तामा त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक बनेका लामाले सिन्धुपाल्चोकको विकासमा योगदान दिनकै लागि पदबाट राजीनामा दिएका छन् । ०४६ र ०६२/६३ को आन्दोलनमा सक्रिय सहभागिता जनाएका लामा भन्छन्, ‘राजनीतिमा इमान्दारिता ठूलो विषय हो । निःस्वार्थ रूपमा जनताको हितमा काम गर्नसके मात्र मुलुकको विकास हुन्छ ।’ लामाले शिक्षण पेसाबाट पनि आफ्नो जीविका चलाउन सक्थे । तर, उनले कांग्रेसबाट मात्र देश विकास सम्भव छ भन्ने निष्कर्ष निकालेर शिक्षण पेसालाई चटक्कै छाडिदिए । अहिले उनी सिन्धुपाल्चोकमा कांग्रेसको संगठन बनाउन लागिपरेका छन् ।

नेपाली कांग्रेसमा लामा संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्दैछन् । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका केन्द्रीय नेताले डा.लामाप्रति निकै ठूलो आडभरोसा राखेका छन् । कांग्रेस सिन्धुपाल्चोकमा तल्लो तहदेखि केन्द्रीय नेतृत्वसमेत लामा नै जिल्ला सभापति बनुन् भन्ने पक्षमा देखिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *