राजनीति

सँगै हिड्न सक्दैनौं भने गठबन्धन पनि रहँदैनः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले एमसीसीबारे सत्ता गठबन्धनका दलहरुले कांग्रेससँग छलछाम गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले एमसीसीमा कुरा नमिले गठबन्धन भत्कने बताएका हुन्।

‘हाम्राबीचमा कुरा मिलेर, हामी सँगै हिड्न तयार भएर गठबन्धन बनेको हो । अब हाम्रो कुरा मिल्दैन, सँगै हिड्न सक्दैनौ भने गठबन्धन पनि रहँदैन’, थापाले भने ।

संसदसँग एमसीसी पारित गर्ने, फेल गर्ने वा खारेज गर्ने अधिकार रहेको बताउँदै संसदबाट निकास दिन सबै दल तयार हुनुपर्ने थापाले बताएका छन् ।

‘एमसीसीको विषयमा कांग्रेससँग सफा व्यवहार भएन । एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ । एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौंला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन’, थापाले भने, ‘एमसीसी संसदमा टेबल गरौं । बुँदा बुँदामा छलफल गरौं । दुधको दुध पानीको पानी हुनेगरी बहस गरौं । एमालेले संसद रोक्नुको अर्को कारण छ । उसले पनि एमसीसीका सन्दर्भमा आफ्नो धारणा देओस् । जे गर्ने हो संसदबाटै गरौं ।’

प्रधानमन्त्री देउवाले यो विषयमा आफ्नो पोजिसन क्लियर गरिदिनुस् भनेर एमाले अध्यक्ष ओलीलाई भनेको तर आफ्नै नेतृत्वको सरकारले प्रक्रिया अघि बढाउने निर्णय गरेको अवस्थामा समेत ओलीले अहिले मौनता साँधेर बसेकोमा आफूहरुलाई आश्चर्य लागेको थापाले बताए ।

थापाले एमसीसीकै कारण गठबन्धन भत्किनुपर्ने कारण नरहेको पनि प्रस्ट पारे । उनले भने, ‘गठबन्धन किन बन्यो ? हाम्रो बीचमा कुराकानी मिलेर बनेको । कुराकानी मिलेन भने गठबन्धन चल्दैन । फरक फरक दल भएका कारणले गठबन्धन हुन केही कुरामा कुराकानी मिल्नुपर्छ । हामी सँगै हिँड्नका लागि गठबन्धन बनेको हो । कुनै एउटा विषयका लागि बनेको होइन, एउटा विषयका कारण भत्किनु पर्छ भन्ने पनि होइन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *