काठमाडौं । नेपाल बार एशोशिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सुरु गरेको आन्दोलन जारी राखेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि बारले भर्चुअलरुपमा आन्दोलन सुरु गरेको हो ।
गत कात्तिक १४ गतेबाट सुरु भएको आन्दोलन कोरोनाको तेस्रो लहर बढेसँगै माघ ६ गतेदेखि भर्चुअल रुपमा सुरु भएको थियो ।
पछिल्लोे बैठक प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने आधार लगायतका विषयमा केन्द्रीत रहेको नेपाल बार एशोशिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।
पछिल्लो समय बारेले हरेका दिन विहान साढे १० बजेदेखि १ घण्टा कानुन व्यवसायीसँग छलफल जारी राखेको छ ।
‘प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयबारे हामी छलफलमा नै छौँ,’ अध्यक्ष श्रेष्ठले भने । आगामी माघ १८ देखि आन्दोलनको स्वरूपबारे कोरोनाको जोखिमलाई मूल्यांकन गरेर निर्णय लिइने बताए ।




