काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेससँग पार्टी एकता गर्नका लागि सुझाव दिएका छन्।
प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा दलमात्र आवश्यक रहेको भन्दै उनले दाहाल–नेपाललाई कांग्रेससँग पार्टी एकताको लागि सुझाव दिएका हुन्।
‘देशमा अब च्याँखे थाप्ने दलको काम छैन, यसले विकास र समृद्धि रोकिन्छ। ठूला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्ने यस्ता दललाई जनताले पनि साथ दिन हुन्न,’ नेता बस्नेतले भने।
त्यसैगरी ५ दलीय गठबन्धनबाट पनि एमालेलाई हराउन सकिँदैन भन्ने डरले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको उनले टिप्पणी गरेका छन्। निर्वाचन सार्नका लागि सरकारले संविधानको अपव्याख्या गर्ने प्रयास गरेको उनले बताएका छन् ।
गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेमा एमाले आन्दोलनमा जाने नेता बस्नेतले चेतावनी समेत दिएका छन् । साथै गठबन्धन सरकार चारैतिर असफल भइसकेको उनले टिप्पणी गरेका छन् ।




