राजनीति

प्रदेश २ पनि सभापति देउवाकै पक्कड !

काठमाडौं । नेपाली कांग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश २ का आठवटै जिल्लामा पकड जमाएका छन् । उपसभापति विमलेन्द्र निधिले पनि यहीबाट प्रतिनिधित्व गर्छन् । निधिलाई विश्वासमा लिएर अघि बढ्न सके देउवाले प्रदेश २ मा पनि आफूलाई बलियो बनाउन सक्नेछन् ।

३२ वटा निर्वाचन क्षेत्र भएको प्रदेश २ महाधिवेशनमा निर्णायक हुने देखिन्छ । यी जिल्लामा पौडेल पक्ष निक्कै कमजोर छ । यस्तोमा निधिलाई विश्वासमा लिन सक्दा देउवाले प्रदेश २ मा बलियो पकड बनाउन सक्नेछन् ।

अन्तिममा देउवासँग निधि भड्किए पनि पौडेल पक्षलेसमेत प्रदेश २ बाट फाइदा उठाउने देखिन्छ । यद्यपि, प्रधानमन्त्री रहेका देउवासँगै कांग्रेस प्रदेश २ को मूलधार रहेको बताइन्छ । प्रदेश २ का ३२ निर्वाचन क्षेत्रबाट ८ सय महाधिवेशन प्रतिनिधि छानिन्छन् । अहिलेसम्म ३२ मध्ये २७ क्षेत्रमा अधिवेशन भइसकेको छ । ४ प्रदेशमा जितेको संस्थापनले प्रदेश २ मा पनि जित्यो भने महाधिवेशनमा आफू निक्कै बलियो रहेको प्रष्टै सन्देश दिनेछ । प्रदेश अधिवेशनलगत्तै अब एक हप्तामा महाधिवेशन हुँदा यसको फाइदा देउवाले उठाउन सक्नेछन् ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्रको सबैको भावनालाई प्रतिनिधित्व गर्न सक्दा नै सभापतिले प्रदेशमा बलियो उपस्थिति देखाएको बताए । ‘सभापति देउवाको पक्षमा सकारात्मक नतिजा देखिएको छ । पार्टीलाई एक बनाएर लानुपर्छ भन्ने सन्देश यी नतिजामा देखिन्छन्’ महतले भने, ‘राष्ट्रिय रुपमा देउवालाई गठबन्धनको प्रधानमन्त्रीको रुपमा सबैले स्वीकार्ने देखियो । पार्टीमा पनि सभापतिले सबैलाई मिलाएर अघि बढ्न खोज्दाको परिणाम आएको छ ।’

यो पक्ष त्यो पक्ष नभनी सबैलाई मिलाएर लान सक्ने क्षमता नै देउवाको ‘स्ट्रेन्थ’ भएको महत बताउँछन् । ‘पार्टी एक बनाएर लानुभएको छ, आफूले प्रतिक्रिया नदिने तर अरुको कुरा सुन्ने, मान्दिने स्वभाव देउवाको छ’ महत भन्छन्, ‘यस्तो खालेको नेतृत्व पार्टीलाई चाहिएको छ । उहाँको स्ट्रेन्थ उदार हुने सबैलाई मिलाउने, आफू वाद विवादमा नउत्रिने, कुरा सुन्ने हो । यसकै नतिजा जिल्लादेखि प्रदेशसम्मको अधिवेशनमा आएको छ ।’

गुटबन्दीबाट माथि उठेको सन्देश देउवाले दिएको पनि महतले बताए । ‘प्रदेश १ र वाग्मतीमा धेरै मेहनत गरेका छौं । सबैलाई समेटेर लाने प्रयत्न गरेका हौं । किनकि, कांग्रेस अर्को पार्टी होइन । आन्तरिक प्रतिस्पर्धा भए पनि सबैलाई जोड्यौं यो पक्ष त्यो पक्ष भनेनौं’ महतले भने, ‘हाम्रो टिममा नभएका भनेर बेवास्ता गरेनौं । सबैलाई जोड्यौं । कसैलाई पनि उपेक्षा गरेनौं । यसैको नतिजा हामीले पाएको छौं । प्रदेश २ बाँकी छ । यो त झन् हाम्रो राम्रो र बलियो पकड भएको क्षेत्र हो । यहाँ हामी झनै शक्तिशाली भएर आउँछौं । महाधिवेशनमा सफल हुन्छौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *