काठमाडौं । कर्णाली प्रदेशमा संस्थापन समूह हाबी भएको छ । यसअघि पौडेल पक्षको वर्चश्व रहेको कर्णाली प्रदेशको १० मध्ये सात जिल्लामा अधिवेशनमार्फत काँग्रेसको जिल्ला सभापतिको टुङ्गो लागिसकेको छ । त्यसमध्ये ६ वटा जिल्लामा संस्थापन समूहले नेतृत्व हासिल गरेको छ ।
अहिलेसम्म कर्णालीको हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा, जाजरकोट र सल्यान जिल्लामा पार्टी सभापतिको टुङ्गो लागिसकेको हो । जसमध्ये कालिकोटमा पौडेल पक्षधर नेता अम्मरबहादुर शाही सर्वसम्मत सभापति चयन भएका छन् । उनी दुवै समूहका नेताको समर्थनमा सभापति बनेका हुन् ।
जाजरकोटका देउवा पक्षका नेता वेदराज सिंह सभापतिमा सर्वसम्मत् चयन भएका छन् । उनी यसअघि पौडेल पक्षधर नेता मानिए पनि अहिले भने संस्थापन पक्षमा लागेका छन् ।
सल्यान जिल्लाको सभापतिमा देउवा पक्षका केशबहादुर विष्ट निर्वाचित भएका छन् । उनले ध्रुव पुरीलाई पराजित गरेका हुन् । सल्यानमा यो पटक एउटै गुटका दुई नेता दुई समूहका नेताहरुको सपोर्टमा चुनावी मैदानमा होमिएका थिए ।
यस्तै जुम्लामा कर्णबहादुर शाही सभापति बनेका छन् । उनी संस्थापन पक्षका नेता हुन् । उनले पौडेल पक्षका दीपबहादुर शाहीलाई ५ मतले पछाडि पारेका हुन् ।
हिमाली जिल्ला डोल्पामा पनि संस्थापन पक्षबाट सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचिन भएका छन् । चार जनाको प्रतिस्पर्धामा शाहीले २३७ मत प्राप्त गरी विजयी भएका हुन् । सभापतिका लागि अंगत बुढा, गौरीशंकर उपाध्याय र देवकुमारी हमाल चुनावी मैदानमा उत्रिएका थिए ।
अंगत बुढा वर्तमान पार्टी सभापति समेत हुन् । उनी पौडेल पक्षका नेता हुन् भने देवकुमारी हमाल र गौरीशंकर उपाध्याय संस्थापन पक्षमा उम्मेदवार हुन् ।
यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहजिल्लामा संस्थापन पक्षबाट मोहनविक्रम सिंह सभापति बनेका छन् । हुम्लामा यस अघि पनि संस्थापन पक्षकै जयपति रोकाय पार्टी सभापति थिए ।
यस्तै मुगु जिल्लामा संस्थापन पक्षका ऐनबहादुर शाही पार्टी सभापतिमा निर्वाचित भएका छन् ।
अब, कर्णालीमा दैलेख, सुर्खेत र रुकुम पश्चिमको विवरण आउन बाँकी छ । काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा संस्थापन इतर पक्ष क्लिन स्विप भएको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षले क्लिन स्विप परेको छ । संस्थापन इतर पक्ष निकट वर्तमान जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।
रेग्मी पौडेल पक्षबाट जिल्ला सभापतिका लागि दाबेदार मानिन्थे । उनी महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि जिल्ला सभापतिको दौडबाट बाहिरिएका छन् ।
सुर्खेतमा महामन्त्री खड्का र केन्द्रीय सदस्य हृदयराम थानीको समूह छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । केन्द्रमा खड्का संस्थापन पक्षमा हुन् भने थानी पौडेल समूहमा छन् ।
केन्द्रीय पदाधिकारी रहेका कारण स्वतः महाधिवेशन प्रतिनिधि हुने भए पनि क्षेत्र नम्बर १ बाट महामन्त्री खड्का महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका थिए । उनी सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । ८७४ मत खसेकोमा खड्काले ७३६ मत पाए । सुर्खेतको दुवै क्षेत्रका सबै महाधिवेशन प्रतिनिधि खड्का निकट प्यानलले जितेको छ ।
यसअघि पौडेल समुह रहेको दैलेखमा पनि संस्थापन पक्ष बराबर हैसियतमा देखिएको छ भने पार्टी सभापतिका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।




