काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पारित हुने संकेत गरेका छन् ।
तिहारका अवसरमा इन्देणी सांस्कृतिक परिवारको देउसी भैलो कार्यक्रममा अध्यक्ष प्रचण्डले एमसीसीलाई पत्र पठाएको स्पष्ट पारे । उनले भने,‘शेरबहादुरजीले के बोल्दिनुभएछ । देशैभर तरंग पैदा भएछ । त्यस्तो चीठी पठाएको हैन । राष्ट्रिय सहमति नबनाई पारित गर्न सकिन्न । समस्या कहाँ छ, समाधान गर्छौ भनेर लेखेको चिठी हो ।’
विदेशी राष्ट्रहरुले दिने सहयोग नलिने भन्ने नभएको भन्दै उनले एमसीसीका बारेमा भइरहेको बहशलाई सम्बोधन गरेर एमसीसी कार्यान्वयन हुने बताए । उनले भने,‘अमेरिकाले या वेलायतले दिएको सहयोग नदिने भन्ने कुरा हुँदेन । यो एमसीसी बहश र विवाद किन भयो भने सम्झौतामा हस्ताषर हुने समयमा संसदमा लानुपर्ने केही कुरा थिएन । अमेरिकाले दिने नेपालले लिने र विकास गर्ने भन्ने थियो । सम्झौता गर्दा संसदमा लैजाने कुरा थिएन । तर पछि संसदबाट पारित गर्ने भन्ने व्यवस्था थपेकाले केही समस्या देखिएको हो ।’
उनले एमसीसी सम्झौता गर्ने बेलामा संसदबाट पारित गर्नुपर्ने व्यवस्था नरहेको भएपनि पछि थपिएको बताए । त्यसकै कारण केही आशंका उत्पन्न भएको उनले बताए । उनले भने,‘ओरिजिनल सहमतिसँग डराउनुपर्ने छैन । बिचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने आम नेपाली जनतालाई लागिसकेपछि यसलाई सम्बोधन नगरीकन यसलाई पारित गर्न सकिदैन ।’
अध्यक्ष दाहालले अहिलेको सत्तारुढ गठबन्धन चुनावसम्म सहकार्य गरेरै अघि बढ्ने र सकेसम्म चुनाजमा समेत तालमेल गरेर अघि बढ्ने बताए । उनले भने,‘गठबन्धन राम्रैसँग अघि बढिरहेको छ । अहिले केही पनि हुँदैन । प्रधानमन्त्रीले पनि हिजो भन्नुभयो चुनावसम्म जान्छ भनेर । म पनि भन्छु । गठबन्धन राम्रैसँग यसैले चुनाव गराउँछ । सकेसम्म तालमेल गरेरै जान्छौं ।’




