रिबन

एमालेले तीनवटा प्रदेशबाट मुख्यमन्त्री गुमायो, अर्को पनि गुमाउँदै

काठमाडौं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीनवटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ ।

एमालेबाट एकल बहुमतको हैसियतमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यले विश्वासको मत लिन आज डाकेको बैठकमा मार्गप्रशस्त गरेको घोषणा गरेकी थिइन् । शाक्यले हेटौंडा पुगेर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छिन् । शाक्यको राजीनामापछि अब प्रदेश प्रमुख शर्माले नयाँ सरकार दावी गर्नका लागि आह्वान गर्नेछन् । 

गत २ भदौमा एमालेका तर्फवाट शाक्य मुख्यमन्त्रीमा चयन भएकी थिइन् । उनी मुलुक संघीय शासन व्यवस्थामा गएपछि पहिलो महिला मुख्यमन्त्री बनेको रेकर्ड भने कायम भएको छ । एमालेका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ‘पार्टी एकताका लागि’ भन्दै गत २ भदौमा राजीनामा दिएलगत्तै शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् । 

एमालेसँगै विभाजित भएको नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेलाई सत्तारुढ गठबन्धनले भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्ने निर्णय लिएको केही दिनमै एमालेले तीनवटा मुख्यमन्त्री पद गुमाउनु परेको हो । 

याेसँगै एमालेले लुम्बिनी र गण्डकीसहित तीनवटा प्रदेश मुख्यमन्त्री गुमाउनु परेको छ । गण्डकी र लुम्बिनीमा क्रमशः माओवादीका कुलप्रसाद केसी र गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले जिम्मेवारी सम्हालिरहेका छन् । 

लुम्बिनीमा माओवादी, गण्डकीमा कांग्रेस

एमालेले मुख्यमन्त्री गुमाएका तीनमध्ये लुम्बिनीमा माओवादी केन्द्र, गण्डकीमा कांग्रेस तथा बाग्मतीमा नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व गर्ने भएका छन् ।

गत २७ साउनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै माआवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनिसकेका छन् भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत २६ वैशाखमा राजीनामा दिएलगत्तै कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
 
‘पार्टी जोगाउन’ राजीनामा, तर मुख्यमन्त्री भने टिकेनन्

तत्कालीन नेकपा विभाजन भएपछि एमालेले पुनर्जीवन पाए पनि एमालेमा कलह भने देखा नै परिरहेको अवस्थामा ‘पार्टी एकता कायम गर्न’ दुई मुख्यमन्त्रीले राजीनामा दिए ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर क्रमशः एमालेकै अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई मुख्यमन्त्रीको जिम्मेवारी दिइयो । 

तर, एमाले विभाजन भएको अवस्थामा शाक्यका स्थानमा पूर्वएमाले तथा हाल नेकपा (एस)का पाण्डे मुख्यमन्त्री हुने भएका छन् भने गठबन्धनमा सहमति भएअनुसार प्रदेश १ मा राजेन्द्र राईको सम्भावना प्रबल रूपमा बढ्दै गएको छ । यद्यपि टुंगो भने लागिसकेको छैन । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *