काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी पार्टीका रुपमा नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ ।
आज बसेको नेता नेपाल समूहको बैठकले नयाँ दल दर्ता गर्न आजै निर्वाचन आयोगमा जाने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार नयाँ दलको चुनाव चिन्ह खुल्ला किताव राख्ने प्रस्ताव गरिएको छ । उनले भने,‘निर्वाचन आयोगमा गएपछि नाम जुझ्छ कि जुझ्दैन भन्ने जानकारी लिएपछि मात्रै टुंगो लाग्छ । तर अहिले हामीले दलको नाम नेकपा समाजवादी र चुनाव चिन्ह खुला किताव राख्ने निर्णय गरेका छौं ।’
नेता खतिवडाले अहिलेको अबस्थामा वार्ताको प्रक्रिया समाप्त भएको र निर्वाचन आयोगमा जाने निर्णय गरेका छौं । वार्ताले कुनैपनि समस्या समाधान नहुने भन्दै उनले भने,‘वार्ताको प्रक्रिया समाप्त भयो । मेरो दुष्टिमा वार्ता समाप्त भएको धेरै पहिला हो । वार्तामा बस्ने साथीहरुलाई मृगमरिचिका रहेको छ । पर पानी छ कि भनेर दौडिरहनुभएको छ ।’ नेता नेपाल समुहले वार्तामा सहभागी भएका नेताहरुलाई समुहमै फर्कन समेत आह्वान गरेको छ । केन्द्रीय कमिटि बैठकले गरेको निर्णयबारे जानकारी दिदै नेता खतिवडाले भने,‘केपी ओली आफ्नो मिसन बनाएर अघि बढिसक्नुभएको छ ।
कृपया केपी ओलीको पछि नलाग्नुस् । कृपया फर्केर आउनुस वार्ताको राप छाड्नुस ।’ नेता खतिवडाले अहिले हिम्मत नगर्नेले भविष्यमा हिम्मत गरेर नेता नेपाल समुहमै आउने विश्वास समेत व्यक्त गरे । नेता खतिवडाले नयाँ गठन हुने पार्टीमा साविकको एमालेका नेता कार्यकर्तालाई समावेश गर्न कोशिश गर्ने भएपनि माओवादीसँग पार्टी एकता भने नहुने जानकारी दिए । उनले भने,‘एमाले भन्ने पार्टी थियो । हामीले राम्रो काम गरेको देखेपछि आउँछ । असल इमान्दारहरु यता आउँछन् । नेकपा एमालेलाई पुर्नगठन गरेपछि एमालेकै सबै मानिसलाई संगठित गर्न कोशिश गर्नेछौं । तर आज नेकपा माओवादीसँग एकताको गुञ्जायस छैन ।’ नयाँ दलमा अध्यादेशले व्यवस्था गरेको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको संख्या पुग्ने समेत बताएका छन् ।




