काठमाडौं । नेपालमा कोभिडविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाउनेको संख्या ७३ लाख पुगेको छ । जसमध्ये पहिलो मात्रा लगाउने ४६ लाख छन् । यस्तै, दोस्रो मात्रा खोप लगाउनेको संख्या २७ लाख पुगेको छ ।
तर, खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण भइरहेको पाइएको छ । खासगरी पहिलो डोज खोप लगाउने व्यक्तिलाई संक्रमण धेरै भएको पाइएको छ । पहिलो मात्रा खोप लगाएपछि स्वास्थ्य मापदण्ड पालना नगरी हिँड्दा संक्रमण फैलिएको भन्दै सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन् । खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरूलाई समेत सुरक्षित राख्न सकिने उनीहरूको सुझाव छ ।
नेपालमा खोप लगाएका व्यक्तिहरूले ढुक्क भएर जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेकै कारण संक्रमण बढेको र कतिपयमा जटिल समस्यासमेत देखिएको कोरोना उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन् ।
पहिलो डोज खोप लगाउनेबित्तिकै संक्रमित भएर आउने धेरै रहेको अस्पतालहरुले जनाएका छन् । चिकित्सकका अनुसार दुवै डोज लगाए पनि खोपले कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ । त्यस्तो अवस्थामा कोरोना संक्रमण भई जटिल समस्या आउन सक्छ । तर यस्तो संख्या कम हुने गरेको चिकित्सकले औंल्याएका छन् ।
दुवै डोज लगाएको धेरै समय बितेपछि शरीरमा एन्टिबडी कम हुँदै गएमा पनि खोप लगाएका व्यक्तिमा कोरोना संक्रमणले जटिल समस्या ल्याउन सक्छ । खोप लिएर शरीरमा कोरोनाविरुद्ध एन्टिबडी बनेको अवस्थामा पनि संक्रमित हुन्छन् । एन्टिबडी बनेपछि संक्रमित हुनेहरूमा जटिल समस्या भने हुँदैन । तर यस्ता व्यक्तिले परिवारका अन्य सदस्य र समुदायमा संक्रमण फैलाउन सक्ने हुनाले खोप लिएका व्यक्तिहरूले पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेर आफू, परिवार र समुदायलाई संक्रमणबाट जोगाउन सक्ने चिकित्सकको सुझाव छ ।




