समाचार

भोलिसम्म क्रियाशील सदस्यता विवाद टुंग्याइने, भदौ पहिलो साताबाट कांग्रेसको स्थानीय तहको अधिवेशन

काठमाडौँ । कांग्रेसले बिहीबारसम्म क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिने भएको छ ।

कांग्रेसले देशभरका सबै जिल्लाको क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिएर भदौ पहिलो साताबाट स्थानीय तहको अधिवेशन सुरु गर्ने भएको छ ।

पार्टीको शीर्ष नेतृत्वले सदस्यता टुंगो लगाएपछि स्थानीय तह अधिवेशनको कार्यतालिका सार्वजनिक गरिने भएको छ ।

महाधिवेशन तयारीबारे जानकारी दिँदै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनको मतदाता रहेका क्रियाशील सदस्यताको विवाद मिलेपछि अधिवेशन सम्पन्न गर्न सहज हुने बताएका छन् ।

यसअघि बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताको विवाद देखिएका जिल्लाको विवाद मिलाउने जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वलाई दिँदै पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।

पार्टीमा अब धनुषा, सर्लाही, बारा, सप्तरी, सिन्धुपाल्चोक र रसुवा गरी ६ वटा जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान गर्न बाँकी छ । बाँकी सबै जिल्लामा क्रियाशील सदस्यताको विवादको छिनोफानो भइसकेको छ ।

क्रियाशील सदस्यताको विषयमा छलफल गर्न आज कांग्रेस पदाधिकारीको बैठक बस्दैछ । पार्टी सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बस्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *