काठमाडौं । कोरोना भाइरसको महामारीका बेला प्रधानमन्त्री केपी ओलीले हरेक दिनजसो बैठक र पत्रकार सम्मेलन गर्दै आएका छन् । सरकारले कोरोना रोकथामका लागि एक महिनादेखि निषेधाज्ञा लागू गरेको छ । तर, ओलीले भने हरेक दिन बैठक राखेर सरकारकै निर्णयको धज्जी उडाएका छन् ।
यसैक्रममा ओलीले आज एमालेको स्थायी कमिटीको बैठक बोलाएका छन् । उनले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाएका हुन् ।
८ जेठमा बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो । स्पष्टीकरण बुझाउन भनेर दिइएको समयअवधि पूरा भएकाले आजको बैठकले थप निर्णय लिन सक्ने अनुमान छ ।
नेता नेपालसहितका सांसदहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर गरेपछि ओली क्रुद्ध बनेका छन् । ओलीले कारबाही गरे पनि नेता नेपालले नयाँ पार्टी गठन गर्ने तयारी पूरा गरिसकेका छन् ।




