काठमाडौं । झन्डै दुई तिहाइ बहुमत रहेको प्रतिनिधिसभा विघटन गरेपछि यतिबेला चौतर्फी प्रधानमन्त्री केपी ओलीको आलोचना भइरहेको छ । भएको दुई तिहाइ विघटन गरेर ओलीले फेरि दुई तिहाइ दिनुस् भन्दै निर्वाचनमा जाने घोषणा गर्नुले उनको कदमलाई ‘भएको छोरो मारेर अर्को छोरो जन्माउँछु’ जस्तै भएको भन्दै सडकदेखि अदालतसम्म उनको आलोचना भएको छ ।
जनप्रतिनिधिको थलो प्रतिनिधिसभा भंग गरिदिएपछि अन्य नेताको वैधानिकता समाप्त पारेर ओली निरंकुश यात्रामा लागेको देखिएको छ । सेना, प्रहरी, अदालत, निर्वाचन आयोग, अख्तियारसम्म ओलीले जरा नंग्रा गाड्न खोजेको र आफूलाई राजामहाराजाको स्वरूपमा देखाउने उनको भित्री चाहना बेलाबेला प्रकट हुने गरेको छ ।
उनी आफैंले भाषण गर्ने क्रममा पहिले राजामहाराजालाई सम्बोधन गर्ने शैली र अहिले आफूहरुलाई सम्बोधन गर्ने शैली फरक रहेको भन्दै रोष प्रकट गर्ने गरेका छन् । राजसंस्थाको अभाव आफूले पूरा गरेको दम्भ उनले पाल्ने गरेका छन् । झन् शनिबार खानेपानी मन्त्री मणि थापाले सुर्खेतमा आमसभालाई सम्बोधन गर्दै ‘श्री ५ को सरकारको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु’ भनेपछि ओलीले आफूलाई राजामहाराजा नै ठानेको अर्थ जनताले बुझ्न थालेका छन् ।
उनले सम्बोधनको सुरूमा भने ‘ जो यहाँ आशिन हुनुहुन्छ, सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु । सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। र सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारबाट यो कार्यक्रममा…।’ थापाले यति भनेपछि मञ्चमा बसेका एकले गल्ती बोलेको बताएपछि उनले भने ‘ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरूलाई लालसलाम भन्न चाहन्छु ।’
मणि थापा आफूलाई निकै क्रान्तिकारी नेता मान्थे । तर, शनिबारदेखि उनी शाही मन्त्रीका रूपमा परिणत भएको भन्दै मिडिया र सामाजिक सञ्जालमा टीकाटिप्पणी हुन थालेको छ । केही दिनअघि अर्थमन्त्री विष्णु पौडेलले मंसिरका १७ र २७ गते आमनिर्वाचन हुने भनेर खुस्काउनु र मणि थापाले शनिबार ‘श्री ५ को सरकार’ भनेर सम्बोधन गर्नुले प्रधानमन्त्री ओलीले आफूलाई शक्तिशाली र बलशाली शासक देखाउन प्रतिनिधिसभा विघटन गरेको हुनसक्ने धेरैको बुझाई छ ।




