रिबन

नैतिकताको प्रश्न उठेपछि नारायणकाजी श्रेष्ठ अप्ठेरोमा

काठमाडौं । राजनीतिमा नैतिकताको प्रश्न उठेपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ अप्ठेरोमा परेका छन् । स्व. कमानसिंह लामाको फेसबुक स्टाटसले पार्टी प्रवक्तासमेत रहेका श्रेठमाथि नैतिक प्रश्न खडा गरेपछि उनी अप्ठेरोमा परेका हुन् ।

अपारदर्शी आर्थिक चलखेलको आरोप लागेलगत्तै श्रेष्ठ शुक्रबार बिहान पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । उनले राष्ट्रिय सभा सदस्य, पार्टी सचिवालय तथा प्रवक्ता पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको सन्दर्भमा प्रचण्डलाई भेट्न पुगेका हुन् । उनले राजीनामा दिनुपर्छ भनी नेकपाभित्र तथा सार्वजनिक रुपमा व्यापक आवाज उठिरहेको छ ।
श्रेष्ठले बिहीबार राति पूर्वजनमोर्चाका नेता कार्यकर्ताहरुको भेला आफ्नो निवासमा बोलाएका थिए । निकटहरुको भेलामा नारायणकाजीले आफूलाई डुबाउन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादल लागिपरेको बताएका थिए ।

बादलले आफूलाई मात्र नभएर पूर्वजनमोर्चाका कसैलाई बाँकी नराख्ने पनि नारायणकाजीले बताएका छन् । राजीनामाबाट जोगिन नारायणकाजी शुक्रबार बिहानै प्रचण्डको निवास खुमलटार पुगेको स्रोतले जनाएको छ ।

नैतिकताको प्रश्न उठेपछि नेकपाका नेताहरु शेरबहादुर तामाङ, कृष्णबहादुर महरा र गोकुल बाँकस्कोटाले पदबाट राजीनामा दिएका थिए । अहिले उठेका प्रश्नहरुको निरुपण भएपछि नारायणकाजी पनि राजनीतिमा पुनरागमन गर्न सक्छन्, तर हालका लागि राजीनामाको विकल्प छैन भनी नेकपाभित्र व्यापक आवाज उठिरहेको छ ।

लामाको बुधबार राति कोरोना भाइरसका कारण मृत्यु भएको थियो । उनका दुई श्रीमती छन् । त्यसमध्ये कान्छी श्रीमती इन्द्रमायासँगको आफ्नो सम्बन्ध नारायणकाजी र उनकी स्वकीय सचिव सुसन कर्माचार्यकै कारण बिग्रेको लामाले धेरै पहिलेदेखि फेसबुकमार्फत लेख्दै आएका थिए । मर्नुअघि पनि आफ्नो किरिया नगर्न उनले श्रीमती र भाइलाई आग्रह गरेका थिए ।

तर, नारायणकाजीले भने लामाकै आग्रहमा आफूले मध्यस्थता निभाएको प्रस्टीकरण दिएका छन् । शुक्रबार प्रकाशित नयाँ पत्रिका दैनिकलाई उनले भनेका छन्, ‘कमानसिंह लामा र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही आपत्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ ।
मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *