रिबन

बीजेपी नेता चौथाइवालेसँग प्रधानमन्त्रीको भेटले नेकपामा चर्कियो विवाद

काठमाडौं । सत्तारुढ नेकपाभित्र फेरि अर्को किचलो थपिएको छ । भारतीय जनता पार्टीको विदेश विभाग इन्चार्ज विजय चौथाइवालेसँग प्रधानमन्त्री केपी ओली र महासचिव विष्णु पौडेलले बिहीबार बालुवाटारमा सुटुक्क बोलाएर भेटवार्ता गरेपछि अर्को विवाद चर्किएको हो ।

नेकपाको विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल हुन् । तर, उनलाई थाहै नदिई महासचिव तथा अर्थमन्त्री पौडेलको निमन्त्रणामा आएका उनले प्रधानमन्त्री ओलीसँग भेट गर्नुलाई निकै अर्थपूर्ण रूपमा लिइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीकै चाहनामा नेकपाका महासचिव पौडेलले चौथाइवालेलाई निमन्त्रणा–पत्र पठाएका थिए । यस विषयमा नेकपाको विदेश विभागलाई भने कुनै जानकारी छैन ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि चौथाइवालेको भ्रमणबारे जानकार नभएको स्रोतको भनाइ छ । विदेश विभाग प्रमुख माधव नेपाल र उपप्रमुख विष्णु रिजाललगायतका नेताहरूसँग चौथाइवालेको भेटवार्ता पनि भएको छैन ।

चौथाइवाले भारतीय प्रधानमन्त्री मोदीका अत्यन्त निकट मानिन्छन् । मोदीको नेपाल भ्रमणका वेला र त्यसपछि पनि उनी पटक–पटक नेपाल आएका छन् । बिहीबार काठमाडौं आएर प्रधानमन्त्री ओलीसँग भेट भएको पनि उनले नै ट्विटरमार्फत सार्वजनिक गरेका हुन् ।

नेकपाका महासचिव पौडेलको निम्तामा आएको चौथाइवालेले नै उल्लेख गरेका छन् । ‘आज प्रधानमन्त्री केपी शर्मा ओलीजीसँग भेट्दा गौरवाञ्वित छु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलजीको निमन्त्रणामा काठमाडौंमा आउने सौभाग्य प्राप्त भयो,’ चौथाइवालेले ट्विटरमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *