रिबन

संवैधानिक परिषद्को बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा जालान् ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाउने गृहकार्य थालेका छन् । परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद कायमै रहेका बेला संवैधानिक निकाय र आयोगमा पदाधिकारी नियुक्त गर्न परिषद्को बैठक बोलाउन लागेका हुन् ।

एक वर्षदेखि परिषद्को बैठक बस्न सकेको छैन । जसका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोग, निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन् । लोकसेवा आयोग, वित्त आयोगलगायतका संवैधानिक निकायहरुमा लामो समयदेखी पदाधिकारी रिक्त छन्।

गत वर्ष विपक्षी दलका नेता अनुपस्थित भए पनि बैठक बस्ने प्रावधानसहित प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि कांग्रेससँग सम्बन्ध चिसिएको थियो । चौतर्फी विरोध भएपछि ओली सरकारले अध्यादेश फिर्ता लिएको थियो । त्यसयता प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति परिषद् बैठकमा उपस्थित भएका छैनन् ।

परिषद्को पदेन सदस्य रहने उपसभामुख अहिलेसम्म चयन हुन सकेको छैन । यस्तै, कांग्रेस सभापति देउवा पनि बैठकमा सहभागी हुने नहुने निश्चित छैन । सरकारको विरोधमा मंसिर २९ गते कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री ओली त्यसअघि नै बैठक बोलाउने मनस्थितिमा छन् । यसअघि ओलीले देउवासँग परिषद्को बैठक बोलाउने र संवैधानिक अंगहरुमा निय्ुक्ति गर्ने विषयमा छलफल गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *