काठमाडौं । कोरोना संक्रमणलाई नियन्त्रण गर्न र त्यसको खोप ल्याउने विषयमा सरकारले सात वटा मुलुकलाई कुटनीतिक नोट पठाएको छ ।
दुई दिन अघि परराष्ट्र मन्त्रालयले सो नोट पठाएको हो । ‘सरकारले कोरोनाको खोप सहयोग माग्दै कोरोनको खोप विकास गरिरहेका मुलुकहरुमा कूटनीतिक नोट पठाएको छ’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । न्यूनतम मूल्यमा खरिदका लागि सो नोट पठाएको हो । हाल कोरोनाविरुद्धका विभिन्न खोपहरु परीक्षणमा छन् । ती मध्ये ११ वटा खोप तेस्रो चरणको परीक्षणमा छन् । जस मध्ये ३ वटा खोपको नतिजा सकरात्मक आएको छ । र ती खोपहरु आकस्मिक रुपमा प्रयोगका लागि विभिन्न मुलुकमा अनुमति पनि पाइसकेका छन ।
हालसम्म अमेरिकी कम्पनीले विकास गरेको खोपको बेलायतमा दिन शुरुसमेत गरिएको छ । अमेरिकी कम्पनी फाइजरले विकास गरेको खोप बेलायतमा दिन शुरु गरिएको छ । यस्तै अर्को अमेरिकी कम्पनी मडेर्नाको खोप पनि प्रभावकारी रहेको रिपोर्ट आइसकेको छ । यस्तै अक्सफोर्डको खोप पनि प्रभावकारी रहेको बताइएको छ । चीनमा सिनो फार्माले विकास गरेको खोप पनि प्रभावकारी रहेको दावी गरिएको छ । उता रुसले बनाएको स्पुतनिक भी नामको खोप बनि प्रभावकारी रहेको बताइएको छ । अमेरिकी कम्पनी फाइजरले छिमेकी मुलुक भारतमा आकस्मिक प्रयोगका लागि अनुमतिसमेत मागिसकेको छ । अहिले बेलायत, रुस र चीनमा भ्याक्सिनेशनको काम शुरु भएको छ ।
कोरोनाविरुद्धको खोप किन्नेभन्दा पनि नेपालले सहयोगमा प्राप्त गर्ने रणनीति लिएको देखिएको छ । स्वास्थ्य मन्त्रालयले खरिदका लागिसमेत अध्ययन गर्न समितिसमेत बनाइसकेको छ । नेपालले पनि यो विषयमा चासो राखेपछि कुटनीतिक नोट पठाएर खोप खरिद गर्ने जनाइएको मन्त्रालय स्रोतले जनाएको छ ।




