रिबन

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । साढे ११ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता बैठकमा सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधबकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुभाष नेम्वाङ सहभागी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डाक्टर प्रकाशशरण महत सहभागी छन् । त्यस्तै संघीय समाजबादी पार्टीका तर्फबाट नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादब सहभागी छन् ।

बैठकको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले छलफल आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए । उनले कोभिड १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेको सल्लाहकार थापाले जानकारी दिए ।

पार्टीमा आफू संकटमा परेपछि र देशभर राजावादीको आन्दोलन सुरु भएपछि छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आयोजना गरेका हुन् । प्रेस सल्लाहकार थापाले छलफल जारी रहेको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *