काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको भन्दै सहभागी नहुन सभापति शेरबहादुर देउवालाई सल्लाह दिएका छन् ।
आफ्नै पार्टीका अध्यक्षले ओलीलाई भ्रष्टाचारीको आरोप लगाएकाले उनले बोलाएको बैठकमा सहभागी नभई कांग्रेस नेतृत्वमै भ्रष्टाचारविरुद्ध सर्वदलीय बैठकको आह्वान गर्नुपर्ने उनको सुझाव छ । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत युवा नेता गुरुङले सभापति देउवालाई बैठकमा नजान र यो सरकारको भ्रष्टाचारविरुद्ध नेतृत्व गर्न सुझाएका छन् ।
‘आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन। बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचारबिरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक छ,’ उनले लेखेका छन् ।
आफू चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा आमन्त्रण गरिएको छ ।
खासगरी नेकपाभित्रै आफू अल्पमतमा परेपछि र यही बेला देशभर राजावादीको प्रदर्शन हुन थालेपछि ओलीले कसरी अघि बढ्ने निर्णय लिन सर्वदलीय बैठक बोलाएका हुन् । राजावादीको प्रदर्शनले गणतन्त्र र संघीयता दुवै धरापमा पर्न थालेको अनुभूति सरकारले गरेको छ ।




