काठमाडौं । सुनसरी जिल्ला अदालतले सिद्धबाबा भनिने कृष्ण गिरीलाई बलात्कारको अभियोगबाट सफाइ दिएको छ । सुनसरी जिल्ला अदालतले बलात्कारको मुद्दा खेपिरहेका गिरीलाई सफाइ दिने फैसला गरेको हो । सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको दुई सातामै जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो ।
न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सोमबार गिरीलाई सफाइ दिने फैसला गरेको हो। गिरीलाई दोषी ठहर्याउन प्रमाण नपुगेको भन्दै कोइरालाको इजलासले सफाइ दिने फैसला गरेको हो।सुनसरी जिल्ला अदालतका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले ‘प्रतिवादीलाई जबरजस्ती करणीको कसूर गरेको अभियोग लगाइएकोमा अभियोग दावी पुग्न नसक्ने भएकाले सफाइ दिने’ आदेश भएको बताए ।
कारागार कार्यालय झुम्कामा थुनामा रहेका गिरी जिल्ला अदालतको आदेशपछि आजै थुनामुक्त हुनेछन्। ‘हामीले उहाँको थुनामुक्तका लागि आदेश आएलगत्तै पत्र पठाइसक्यौं, थुनामै राखिराख्नुपर्ने अरू कारण नभए छुट्नेछन् ’, उनले भने । सोलुखुम्बुको दूधकोशी गाउँपालिका–४ घर भई सुनसरीको बराहक्षेत्र–१, चतरा बस्ने गिरीमाथि उनकै एक अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लगाएकी थिइन ।
४ कात्तिक २०७६ मा बराहक्षेत्र–१ स्थित गुरुकुलमा भेट गर्न गएकी आफूलाई बलात्कार गरेको भन्दै पीडित महिलाले गिरीविरुद्ध ८ मंसीर २०७६ मा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले १६ मंसीरमा पक्राउ गरी गिरी विरूद्ध १० पुसमा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो । तर, जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले १४ पुसमा गिरीलाई तीन लाख धरौटीमा तारेखमा राख्न आदेश दिएका थिए ।




