काठमाडौं । कुर्सीमा पुगेपछि कसैले भन्दैमा छोड्ने होइन । म नै नरहे संसार ध्वस्त हुन्छ । आकाश नै खस्छ । म नै सर्वेसर्वा हुँ । मैले भनेको सबैले मान्नु पर्छ भन्ने शासकलाई लाग्छ । हिजो राणालाई, पञ्चायतकालमा राजालाई पनि लागेकै हो ।
अहिलेका प्रधानमन्त्री केपी ओलीलाई पनि त्यस्तै लागेको छ । तर, यही हठका कारण उनी अहिले एक्लो बनेका छन् । ४५ सदस्यीय स्थायी कमिटीमा ओली एक्लो हुनु र बैठक बहिष्कार गर्नुले अब ओलीका दिन सकिँदैछन् । सबैले उनलाई विस्तारै साथ छाड्ने छन् भन्ने संकेत देखिएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसरी स्थायी कमिटी बैठक राखेर आफ्ना धारणा राखे, त्यसले आगामी दिनमा प्रचण्डले ओलीले धेरै हठ गरे पार्टी निर्णयबाटै फाल्न सकिने सम्भावना देखाएका छन् ।
अहिले प्रचण्डलाई माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठको मात्र होइन, ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादलले पनि साथ दिनुपर्ने अवस्था आउने छ । किनभने ४५ मध्ये ४४ जना सदस्य स्थायी कमिटी बैठकमा उपस्थित हुनु भनेको ओलीको ताउर माउर सकिँदैछ भन्ने संकेत पनि भएको नेकपा नेताहरू बताउँछन् । अर्को बैठक मंसिर २८ गते बोलाइएको छ । त्यो बैठकमा पनि ओली सम्भवतः उपस्थित हुने छैनन् । पार्टी अध्यक्ष नै लगातार बैठकमा उपस्थित नभएपछि अप्रिय निर्णय गर्नुपर्ने अवस्थामा पार्टी कमिटी पुग्नेछ ।
स्थायी कमिटी बैठकलगत्तै पुस ५ गते केन्द्रीय समिति बैठक बोलाइएकाले पनि नेकपामा ओलीको विकल्प चाँडै आउने सम्भावना देखिएको छ । स्थायी र केन्द्रीय कमिटी दुवैमा ओली अल्पमतमा र प्रचण्ड माधव नेपाल समूह बहुमतमा छ । संसदीय दलमा पनि प्रचण्ड नेपाल समूह बहुमतमा रहेकाले पार्टी कमिटीले प्रधानमन्त्रीबाट राजीनामा दिन निर्णय गरेमा ओलीसँग कुनै हतियार बाँकी रहने छैन । त्यसैले यो एक सातामा उनले आफ्ना सबै रणनीति अख्तियार गर्ने बुझिएको छ ।




