देश

चुनावी माहोलमा पनि विदेश पलायन तीव्र : पाँच महिनामा बाहिरिने ३९ हजार बढी

काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले विदेशमा रहेका मतदातालाई स्वदेश फर्किएर मतदान गर्न आह्वान गरिरहेका छन्। तर सरकारी तथ्यांकले भने फरक तस्वीर देखाएको छ—नेपाल फर्किनेभन्दा विदेश जाने नेपालीको संख्या निरन्तर बढिरहेको छ। अध्यागमन विभागका अनुसार असोज १५ देखि फागुन १६ सम्म ९अक्टोबर–फेब्रुअरी० कुल ७ लाख ७२ हजार ६० जना नेपालबाट बाहिरिएका छन्। यही अवधिमा ७ लाख ३२ हजार ८१५ जना मात्रै स्वदेश फर्किएका छन्। अर्थात् पाँच महिनामा आउनेभन्दा जाने ३९ हजार २४५ जना बढी छन्।

फेब्रुअरीमा उच्च वृद्धि

सन् २०२६ को फेब्रुअरी (माघ १८–फागुन १६) मा मात्रै १ लाख ४९ हजार ८९५ जना नेपाली विदेशिएका छन्। यो अघिल्ला वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। वैदेशिक रोजगारीमा जानेको संख्या पनि ह्वात्तै बढेको छ। अघिल्लो वर्ष फेब्रुअरीमा ६० हजार १९२ जना वैदेशिक रोजगारीमा गएका थिए भने यस वर्ष सोही अवधिमा ८० हजार ४६१ जना पुगेका छन्—करिब ३३ प्रतिशतले वृद्धि।

दलहरूको अपिल प्रभावहीन

घरदैलो र आमसभामा दलहरूले “चुनावपछि रोजगारी” को आश्वासन दोहोर्‍याए पनि त्यसले युवालाई रोक्न सकेको देखिँदैन। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङका अनुसार भिसा आइसकेपछि धेरैले चुनाव कुर्नुभन्दा विदेश जाने निर्णय लिन्छन्। उनका अनुसार, “नेपालमा भरपर्दो रोजगारीको वातावरण नबन्दासम्म विदेश जाने क्रम रोकिने देखिँदैन।”

फेब्रुअरीमा १ लाख ४८ हजार ६३२ जना नेपाली स्वदेश फर्किएका छन्। यस्तै १ लाख १५ हजार ४४२ जना विदेशी नेपाल आएका छन्। तर समग्रमा जानेको संख्या बढी भएकाले जनशक्ति बाहिरिने क्रम कायमै छ।विदेशमा रहेका नेपालीलाई त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था कार्यान्वयनमा नआएकाले सरकारले स्वदेश फर्किएर मतदान गर्न आग्रह गरेको छ। तर तथ्यांकले देखाउँछ—चुनावी आह्वानभन्दा रोजगारीको आवश्यकता बलियो बनेको छ। निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा पनि वैदेशिक रोजगारीतर्फ जाने लर्को रोकिने संकेत देखिएको छैन। चुनावी प्रतिबद्धता र युवाको रोजीरोटीबीचको दूरी अझै घट्न सकेको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *