काठमाडौं । प्रहरीले कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई पक्राउ गरेको छ ।
भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याउन लागिएको प्रहरीले जनाएको छ । पक्राउका लागि प्रदेश प्रहरी कार्यालय र रौतहट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली भारतको मोतिहारी पुगेको थियो । ‘आजै रौतहटमा ल्याउने तयारी भइरहेको छ, उनी पक्राउ परिसकेका छन्,’ २ नं प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले भने ।
यसअघि पूर्वमन्त्री शेख ईद्रिसको गोठमा भएको बम विस्फोटको घट्नामा संलग्न रहेका आरोप लागेपछि फरार भएका इँटाभट्टाका हेड मिस्त्री बाराको सिम्रौनगढ नगरपालिका४ का ५५ बर्षीय बद्री सहनी पक्राउ परिसकेका छन् ।
०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् । प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्राउ गरी मुद्दा चलाएको थियो ।
संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ ।
विस्फोटमा १६ जना घाइते र ३ जनाको मृत्यु भएको प्रहरीको दाबी छ । घटनापछि मृतक र घाइतेलाई इँटा भट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा प्रहरीले २६ असोज २०७६ मा कांग्रेस नेता अफताव आलमलाई पक्राउ गरेको थियो ।




