रिबन

ओलीसँग संवाद ठप्प भएकै बेला प्रचण्डले टन्न छापे राजनीतिक प्रतिवेदन, झन् बढ्दै तनाव

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएपछि केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई ‘दुई पाइलट’ को संज्ञा दिएका थिए । कुनै पनि जहाज दुई पाइलटको समन्वयमा राम्रैसँग उड्ने गर्छ । तर जब दुई पाइलट आ–आफ्नो दिशामा हिँड्छन्, तब जहाज दुर्घटनामा पर्छ ।

अहिले यही स्थिति नेकपामा देखिएको छ । नेकपारूपी जहाजका दुवै पाइलट ओली र प्रचण्ड दुईतिर फर्किएका छन् । दुवैबीच मंसिर २ गतेयता संवाद ठप्प छ । यदि केही समय दुवै पाइलट आ–आफ्नो बाटोमा हिँडेमा नेकपा दुर्घटना हुनबाट जोगाउन कुनै शक्तिले रोक्न सक्दैन । किनभने ओली र प्रचण्डलाई लगाम लगाउन सक्ने खुबी भएका युवा पुस्ताका नेताको अझै खडेरी देखिएको छ ।

नेकपारूपी जहाज दुर्घटना गराउन प्रचण्डले कात्तिक २९ गते बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको ‘राजनीतिक प्रतिवेदन’ हुने देखिएको छ । सो प्रतिवेदनलाई ओली पक्षले ‘आरोप पत्र’ भन्दै प्रचार गरेको छ । तर, प्रचण्ड पक्षले राजनीतिक प्रतिवेदन मात्रै भनेको छैन, हजारौं प्रति छापेर साथै प्रदेशमा तल्ला तहमा लगिसकेको छ ।

प्रचण्ड कार्यकारी अध्यक्ष हुन् । प्रधानमन्त्री ओली नेकपामा प्रथम अध्यक्ष हुन् । दुवै अध्यक्ष भए पनि प्रचण्डले राजनीतिक प्रतिवेदन छपाएर नेता कार्यकर्तासमक्ष लैजान कुनै छलफल गर्न आवश्यक ठानेनन् । किताबका रूपमा प्रकाशन गरेर कार्यकर्ता तहसम्म लगेको विषयले नेकपामा तरंग सिर्जना गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल मात्र होइन, प्रचण्ड पक्षका हरिबोल गजुरेलले समेत पुस्तकका रूपमा प्रकाशित गरिएको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् ।

ओलीले सरकार र पार्टी दुवैतिर पेल्न लागेपछि प्रचण्डले पनि राजनीतिक प्रतिवेदनलाई अस्त्रका रूपमा प्रयोग गरेको देखिएको छ । प्रचण्डको अस्त्रले ओलीलाई ढाल्ने हो कि आफैंतिर फर्किने हो ? त्यो हेर्न भने मंसिर १३ गतेको सचिवालय बैठकसम्म कुर्नै पर्ने हुन्छ । मंसिर १३ गते सचिवालय बैठकमा ओलीले प्रस्तुत गर्ने भनिएको जवाफी पत्रलाई अहिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बालुवाटारमा बसेर लेखिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *