काठमाडौं । कोरोना भाइसरको महामारीका बीच प्रधानमन्त्री खड्कप्रसाद ओली संखुवासभा जिल्लामा निर्माणधिन रणनीतिक विकास आयोजनाको स्थलगत अवलोकन गरेर काठमाडौं फर्किएका छन । प्रधानमन्त्री ओली किमाथांका बोर्डर आउटपोष्ट(बीओपी), उत्तर दक्षिण अन्तरदेशीय कोशी राजमार्ग, अरुण तेश्रो परियोजना,सुख्खा बन्दरगाह, भन्सार कार्यालय आदिको अवलोकन गरेर काठमाडौं फर्केका हुन ।
प्रधानमन्त्री ओली किमाथांका नाकाको अवलोकनपछि अरुण तेश्रो परियोजनाको ड्यामसाइड फ्याक्सिन्दा पुगेका थिए । उनलाई परियोजनाले रेड कार्पेट ओछ्याएर भव्य स्वागत गरेको थियो । फ्यक्सिन्दामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर प्रधानमन्त्री काठमाडौं फर्केका थिए । २०७५ वैषखमा नौं सय मेगावटको अरुण तेस्रो परियोजनाको नेपालका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
प्रदेश प्रमुख शेरधन राई, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका सचिवालयका कर्मचारी, जिल्लाका सांसद र सुरक्षा निकायका प्रमुखको साथमा संखुवासभा पुगेका प्रधानमन्त्री ओलीको भ्रमणले जिल्लामा कुनै आशा,उमंग र उत्साह थपेन । बुधबार विहान ९ बजे काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर एमआई –१७ बाट संखुवासभा पुगेका प्रधानमन्त्री ओलीको भ्रमण आडम्बर र अहंकारले युक्त थियो । आत्मकेन्द्रीत प्रधानमन्त्री न स्थानीय जनताका कुरा सुन्ने पक्षमा थिए नत सरोकारवाल पक्षकै । प्रधानमन्त्री ओली पार्टी अध्यक्षको हैसियतमा भन्दा पनि प्रधानमन्त्रीको हैसियतमा विकास आयोजनाको अवलोकन गर्न निस्किएका हुन । तर, राज्यको ठूलो धनराशी खर्च गरेर आयोजना अनुगमन गर्न पुगेका प्रधानन्त्रीसंग कुनै विशेष कार्यक्रम थिएनन । उनको कार्यक्रमको ढाचा हेर्दा राष्ट्रिय भ्रमणभन्दा गुटगत भेलाको झल्को दिनेखालको थियो । प्रधानमन्त्री ओलीले एक तीरले दुई शिकार गर्ने रणनीति अख्तियार गरे पनि उनी दुवै रणनीतिमा चुकेका छन । न उनले प्रधानमन्त्री पदको गरिमा जोगाउन सके न त निर्विवादित पार्टी अध्यक्षको भूमिक नै निर्वाह गर्न सके । उनी झन विवादको भूमरीमा फसेर काठमार्डौ फर्के ।
चरम आन्तिरिक द्वन्द्वले प्रधानमन्त्री र पार्टी अध्यक्ष पद नै धरापमा परेको अवस्थाका ओलीको राष्ट्रिय भ्रमणले प्रतिपक्षलाई मात्र होइन सत्ता पक्षलाई पनि निराश बनाएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष समेतको राष्ट्रिय भ्रमण गुटगत भेलामा जस्तो किन देखियो ? विभाजनको संघारमा रहेका नेकपाका कार्यकर्ताले किन ओलीको भ्रमण रुचाएनन ? निमन्त्रणा नगरिएका कारण कार्यक्रममा प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता पुग्ने कुरै भएन । नेकपाका अध्यक्ष हेमराज घिमिरे समेत ओली सहभागी कार्यक्रममा अनुपस्थित थिए । प्रधानमन्त्री ओलीले फ्याक्सिन्दामा सम्बोधन गरेको कार्यक्रमम अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल पक्षीय नेता तथा कार्यकर्ता पनि पुगेनन । ओली पक्षीय नेता तथा कार्यकर्ताको भने कार्यक्रममा उत्साहजनक उपस्थिति थियो ।
प्रधानमन्त्री ओलीले राणनीतिक विकास आयोजनाको कार्यप्रगति बुझने क्रममा जिल्लाको विकास निर्माणमा सहयोग र सहकार्य गरिरहेका राजनीतिक दल र तिनका प्रतिनिधिहरुलाई पूर्णत वाईपास गरे । केन्द्र सरकार र प्रदेश सरकार प्रमुख पुगेका कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दललाई सहभागी गराउन किन आवस्यक ठानेनन प्रधानमन्त्री ओलीले ?




