काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मंगलबार मध्यान्न अघिसम्म देशका विभिन्न अस्पतालमा छ जनाको मृत्यु भएको छ । मोरङ र रुपन्देहीका २–२, चितवन र सर्लाहीका १–१ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मोरङका २ जना कोरोना संक्रमितको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ । मृत्यु हुनेमा १५ बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय र सुन्दरहरैंचा नगरपालिका ३ का ४३ वर्षीय पुरुष रहेका छन् । बुढीगंगाका पुरुषको कोशी अस्पताल र सुन्दर हरैचाका पुरुषको विराट शिक्षण अस्पतालमा मंगलबार विहान मृत्यु भएको हो ।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा बुटबल उपमहानगरपालिका ३ निवासी ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति भरतपुर महानगरपालिका १० का ७८ वर्षीय वृद्धको मृत्यु भएको छ ।
सोही अस्पतालमा उपचारको क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ की ३५ वर्षिया महिलाको पनि ज्यान गएको छ । त्यस्तै पुरानो मेडिकल कलेज चितवनमा सर्लाहीको चकरघट्टा गाउँपालिका १ का ३१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । योसँगै नेपालका कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय ५१ पुगेको छ ।




