काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएका छन् ।
यसअघि संसदीय दलको नेताको हैसियतमा आफूले विधान अनुसार प्रमुख सचेतकमा शाहलाई नियुक्त गरेको र अहिले काम सन्तोषजनक नभएकाले हटाइएको मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको पत्रका उल्लेख छ।
आइतबार बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दलको विधानअनुसार प्रमुख सचेतक शाहले भोलि मंगलबार संसदीय दलको बैठक बोलाएका थिए।
अविश्वास प्रस्तावबारे छलफल गराउने तयारी गरेका शाहलाई मुख्यमन्त्री शाहीले पदमुक्त गरेको बताइएको छ। साथै दलका सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरिएको छ । शाह पूर्वएमालेबाट निर्वाचित हुन भने नेपाली पूर्वमाओवादीबाट निर्वाचित भएकी हुन्।




