मुख्य समाचार

थप १५५१ जनामा कोरोना पुष्टि, थप ९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १५५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ९० हजार ८१४ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म १० लाख ९९ हजार २७६ जनाको पिसीआर गरिएको छ ।

हालसम्म ६७ हजार ५४२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा २३४० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर २२ हजार ७०९ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ४ हजार २२१ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।

उपत्यकामा १ हजार १७ नयाँ संक्रमित
देशभर कोरोना भाइरसका नयाँ संक्रमितको संख्या दिन दिनै बढिरहेको बेला मंगलबार केही घटेको देखिएको छ । यससँगै काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या केही घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंगबार काठमाडौं उपत्यकामा कोरोनाका १ हजार १७ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा ११८ जना नयाँ संक्रमित थपिएका छन् ।

थप ९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा उपत्यकामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ जना महिला तथा ललितपुरमा एक जना महिला र दुइ जना पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *