काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमको सांसद पदको वैधता विषयलाई लिएर सर्वोच्च अदालतमा कानुन व्यवशायीहरुबीच चर्काचर्की बहस भएको छ सर्वोच्च अदालतमा बुधवार दुई पक्षबीच चर्काचर्की बहस जारी रहेपछि बहस शुक्रबार हुने गरी बुधबारको बहसलाई निरन्तरता दिइएको हो ।
गौतमको गैरसंवैधानिक नियुक्ति दावी गर्दै परेको रिट निवेदकका पक्षबाट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता हरि उप्रेती, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीसहितले बहस गर्दै गौतमको नियुक्ति खारेज गर्नुपर्ने माग गरेका छन् ।
महान्यायाधिवक्ता अग्नि खरेललगायत सरकारी वकिलले भने यसअघि पनि माधव नेपालसहितले चुनाव हार्दासमेत सांसद हुने नजिर रहेको भन्दै गौतमको पक्षमा बहस गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासहित ५ जना न्यायाधीशको संवैधानिक इजलासमा भएको बहसमा गौतमका पक्षबाट बहस गर्न ४० जना वकिलले वकालतनामा पेस गरेका छन् ।
गौतमको पक्षबाट पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठ, अनन्तराज लुइँटेललगायतले बहस गर्ने भएका छन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपक कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडा हुनुहुन्छ ।




